फिरफिरे र उत्खननको चपेटामा त्रिशूली | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

फिरफिरे र उत्खननको चपेटामा त्रिशूली

t1

धादिङ,१९ पुस । ५ वर्ष अघिसम्म यतिबेला त्रिशूली नदीमा जलयात्रा गर्ने आन्तरिक र विदेशी पर्यटकको भीड लाग्ने गर्दथ्यो । तर पछिल्लो समय ‘ह्वाइट वाटर र्‍याफ्टिङ’का लागि नेपालमै प्रसिद्ध मानिने त्रिशूली नदी प्रदूषणको चपेटामा पर्दै जान थालेपछि र्‍याफ्टिङ गर्न आउने पर्यटक कम हुँदै गएका छन् भने मध्यपुसमा पनि त्रिशूली नदी साउनको भेलजस्तै बग्न थालेको छ ।

कुनै बेला सफा र कञ्चन पानीका कारण दक्षिण एसियामै र्‍याफ्टिङका लागि उत्कृष्ट नदीको उपमा पाएको त्रिशूली नदी पछिल्लो समय अतिक्रमणको चपेटामा पर्न थालेपछि नदी हिउँदमा समेत सफा र कञ्चन हुन पाएको छैन । नुवाकोट र धादिङका त्रिशूली नदी किनारमा अव्यवस्थित ढंगबाट खोलिएका बालुवा प्रशोधन केन्द्र फिरफिरे र ढुंगा तथा बालुवा खानीका कारण त्रिशूली नदी प्रदूषित बन्ने क्रम बढदै गएको छ । जसका कारण पृथ्वीराजमार्गको छेवैमा रहेको त्रिशूली नदी बाह्रै महिना धमिलो देखिने गरेको छ ।

नदी किनारमा जताततै खुलेका फिरफिरेबाट निस्किएको हिलो र लेदो पानी सीधै नदीमा मिसाइनाले मध्यहिउँदमा पनि त्रिशूली मध्यवर्षाको भेलजस्तै धमिलो देखिने गरेको छ । नदीलाई आधार बनाएर खोलिएका बालुवा प्रशोधन केन्द्रबाट निस्किएको फोहोर सीधै नदीमा मिसाइएको मात्रै छैन, डोजर र स्काभेटरको सहायताले नदी नै खोतल्नाले र बजारआसपासका फोहोरमैला नदीमै मिसाउनाले नदी प्रदूषणको अवस्था भयावह बनेको छ ।

त्रिशूली नदी बाह्रै महिना धमिलो बग्न थालेपछि जलयात्रा गर्न आउने विदेशी तथा स्वदेशी पर्यटक पछिल्ला वर्षहरूमा घट्दै जान थालेका जलयात्रा व्यवसायी भीष्मराज थपलियाले बताए ।

राजमार्ग र त्रिशूली नदीको बीचमा खुलेका बालुवा प्रशोधन केन्द्रले नदीलाई मात्रै होइन पृथ्वीराजमार्गलाई पनि उत्तिकै प्रदूषित बनाइरहेको छ । नदी प्रदूषित बन्दै जान थालेपछि पर्यटकहरू आउन नै छाड्ने हुन् कि भन्ने चिन्ताले र्‍याफ्टिङ व्यवसायीहरूलाई सताउन थालेको छ । बेनीघाटका रिसोर्ट सञ्चालनहरू भन्छन्, ‘यो समयमा सफा र कञ्चन पानीमा र्‍याफ्टिङ गर्न पाउने हो भने नेपालीसमेत ओइरिएर आउने थिए । तर, आएका पनि पानी देख्ने बित्तिकै नाक खुम्च्याएर फर्कन्छन् । अहिले र्‍याफ्टिङको सिजन हो, तर पहिलेजस्तो नदी सफा नभएकाले र्‍याफ्टिङ गर्न आउनेहरूको संख्या घट्दै गएको छ ।’

त्रिशूली नदीको धादिङखण्डअन्र्तगत बैरेनीदेखि गजुरीसम्म करिब दुई सयको हाराहारीमा अव्यवस्थित रूपमा खुलेका फिरफिरे र त्यत्तिकै संख्यामा नुवाकोटमा रहेका फिरफिरेले हरेक दिन नदीलाई प्रदूषित बनाइरहेका छन् । गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले भनिन्, ‘हामीले हाम्रो गाउँपालिकाको नदी आसपासमा सञ्चालित फिरफिरेलाइ पूर्ण रूपमा बन्द गराइसकेका छौं, उजुरी पर्ने बित्तिकै फिल्डमै पुगेर कारबाही गर्न हामी तयार छौं ।’ तर, दिउँसो बन्द भएका फिरफिरे रातको समयमा सञ्चालन हुने गरेको स्थानीहरूको आरोप छ ।

व्यवसायका रूपमा खोलिएका धेरैजसो फिरफिरे दर्ता नै नगरी चलाएको पाइएको छ । दर्ता भएकाहरूले पनि मापदण्ड मिचेर चलाउने गरेका छन् । सरोकारवाला स्थानीयहरू भने सरकारले नै खानी सञ्चालकहरूलाई अप्रत्यक्ष रूपमा मापदण्ड मिचेर बालुवाखानी सञ्चालन र बालुवा प्रशोधनमा सघाइरहेको आरोप लगाउँछन् । आदमघाटका स्थानीय गम्भीर दुवाडीले भने, ‘जिल्ला विकास समिति बालुवा उत्खननका लागि २५ करोडको ठेक्का लगाउँछ, जबकि मापदण्डअनुसार बालुवा उत्खनन गर्ने हो भने ठेकेदारले वर्षभरिमा पाँच करोड पनि कमाउन सक्दैन, बढीमा ठेक्का लगाउनु भनेकै अवैध काम गर्न छुट दिनु होइन र

स्थानीय सरकार बलियो भई कडाइ गरे मात्रै नदी प्रदूषण रोकिने राजमार्ग आसपासका स्थानीय बताउँछन् । त्रिशूली नदीमाथिको अतिक्रमण र प्रदूषण रोकथामका लागि जिल्ला समन्वय समिति धादिङ र जिल्लाका प्रमुख राजनीतिक दलहरूले समयमै चासो नदिए त्रिशूली पनि वाग्मती र विष्णुमतीकै हालतमा पुग्ने भन्दै ठाउँठाउँमा संघर्ष समितिहरू बनाएका छन् ।

प्राकृतिक सम्पदा संरक्षण समिति मलेखुका संयोजक श्रवण त्रिपाठी भन्छन्, ‘राजमार्ग क्षेत्रका स्थानीय निकायहरूको भरपर्दो आम्दानीको स्रोत नै ढुंगा, गिट्टी र बालुवा भएकाले पनि ती निकायले पूर्ण रूपमा मापदण्ड लागू गराउन नसकेका होलान् । तर व्यवस्थित गरी प्रदूषण र अवैध उत्खनन रोक्न त सक्छन् नि । त्यता पनि स्थानीय सरकारको ध्यान जान सकेको देखिँदैन ।’

त्रिशूली नदी दिन÷प्रतिदिन प्रदूषित बन्दै गइरहे पनि सरकारी निकायले यसको प्रदूषण रोकथाममा कुनै पहल गरेको पाइँदैन । बेलाबेलामा हुने सरकारी अनुगमनमा अनुगमन टोलीले बालुवा धोएको पानी सीधै त्रिशूली नदीमा नमिसाउन चेतावनी दिने गरे पनि त्यो झारा टार्ने काम मात्रै हुने गरको स्थानीय बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले पनि बालुवा धुने फिरफिरेहरूलाई धोएको पानी खाल्डोमा जम्मा गरी सफा बनाएर मात्रै नदीमा मिसाउन आग्रह गरे पनि केही दिन उक्त नियम माने पनि पछि अटेर गर्ने गरेका छन् । केही वर्षयता नदी सफा राख्ने अभियान चलाइरहेका ‘त्रिशूली बचाउ साझा सञ्जाल धादिङ’ का संयोजक उत्तम कँडेलले भने, ‘नदी सफा राखौं, धमिलो नबनाऔं भन्यो भने व्यवसाय बन्द गराउन खोजेको ठानेर हामीविरुद्ध व्यवसायीहरू आइलाग्छन्,’ उनी भन्छन्, ‘प्रकृतिको संरक्षण गरौं, भावी पुस्तालाई पनि यसको हकदार बनाऔं भन्ने नारा अभियानमा मात्र सीमित हुने भयो ।’

अहिले धेरैजसो अधिकार स्थानीय तहमा गएकाले स्थानीय तहबीचकै समन्वय अभावले पनि अवैध बालुवा खानी सञ्चालन गर्नेहरूलाई प्रेरणा मिलेको छ । बेनीघाटका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘स्थानीय सरकारका कतिपय पदाधिकारी नै अवैध बालुवा उत्खनन र फिरफिरे सञ्चालक छन्, त्यसमाथि एउटा गाउँपालिकाको खुकुलो नीति बनाइदिन्छ, अर्कोले समेत त्यसको दोष खेप्नुपर्छ ।’

बालुवा तथा रोडाढुंगा निकासी गरेर वार्षिक करौडौं रुपैयाँ राजस्व हात पार्ने जिल्ला समन्वय समिति धादिङले आम्दानीको केही प्रतिशत मात्रै त्रिशूलीको संरक्षणमा खर्च गर्ने हो भने पनि हिउँदमा सधैं धमिलो देखिने त्रिशूलीलाई सफा राख्न सकिने स्थानीय बताउँछन् ।आजको अन्नपुर्णपोस्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);