राजधानी माग गर्दै वीरगन्जमा अनशन | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

राजधानी माग गर्दै वीरगन्जमा अनशन

वीरगन्ज, २२ पुष । प्रदेश नम्बर २ को राजधानी वीरगन्ज तोक्न माग राखेर पर्सा र बारामा क्रियाशील विभिन्न दलका नेता तथा नागरिक समाजका अगुवा रिले अनशनमा बसेका छन् । वीरगन्जमा शुक्रबारदेखि रिले अनशन सुरु गरिएको हो ।

उनीहरुका अनुसार वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिएअनुसार पहिलो चरणमा रिले अनशन थालिएको हो । वीरगन्जलाई प्रदेश राजधानी तोक्ने आन्दोलनमा नेपाली कांग्रेस र एमाले नेताको विशेष सक्रियता देखिएको छ । त्यसमा स्थानीय युवा र नागरिक अगुवाको पनि सहभागिता छ । पहिलो दिन नेपाली कांग्रेस पर्साका पूर्वसभापित सुरेन्द्रप्रसाद चौधरी, एमाले पर्साका नेता शम्भुप्रसाद गुप्ता, बसरुद्दीन अन्सारी, तरुण दल बारा अध्यक्ष लोकेश सिंह, समाजका अगुवाहरु ओमप्रकाश सर्राफ, दुर्गा क्षेत्री, रन्जु दाहाल, कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी गरी १२ जना रिले अनशनमा बसे । घण्टाघरमा टेन्ट लगाएर रिले अनसन सुरु गरिएको छ ।

अनशनकारीले आन्दोलन शान्तिपूर्ण स्वरुपमै कडा पार्दै लैजाने बताए । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमतालगायत विभिन्न आधारमा वीरगन्ज प्रादेशिक राजधानीका लागि सबैभन्दा उपयुक्त भएको आन्दोलनकारीको दाबी छ । प्रदेश राजधानी वीरगन्ज नतोक्ने प्रयासविरुद्ध संघर्षमा उत्रिनुपरेको अनशनकारी गुप्ताले बताए ।

यो खबर आज को नागरिक मा प्रकाशित छ ।