ए डिभिजन लिगमा मच्छिन्द्रले खाता खोल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

ए डिभिजन लिगमा मच्छिन्द्रले खाता खोल्यो

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लवले मनाङ मस्र्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो अंक जोडेको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले मनाङलाई रोक्दै तालिकामा खाता खोलेको हो । निकै रोमाञ्चक बनेको खेलमा दुवै टोली केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएका थिए । यस बराबरीसँगै मनाङको तीन खेलबाट ५ अंक भएको छ । यसअघि मछिन्द्रले जावलाखेल युथ क्लवसँग ३–१ र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग ३–१ को पराजय व्यहोरेको थियो । मनाङले हिमालयन शेर्पासँग १–१ को बराबरी खेल्दा संकटा क्लवलाई १–० ले पराजित गरेको थियो ।

लिग अन्तर्गत आईतवारकै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी) सँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे । च्यासल मैदानमा खेलको १५ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा लालनुनजामाले एनआरटीलाई १–१ को बराबरीमा ल्याएको खेलमा ५७ औं मिनेटमा जिन एन्सर एमबोउमीले पेनाल्टीमार्फत गोल गर्दा एनआरटी २–१ ले अघि बढ्यो । ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३–१ को अवस्थामा पु¥याए पनि ६८ औं मिनेटमा आर्मीका सुदिल राईले गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीको हारलाई टारेका थिए । बराबरी पछि आर्मीको तीन खेलबाट ५ अंक भएको छ । यस्तै एनआरटीको ३ खेलबाट १ अंक छ ।

यसअघि संकटा क्लवसँग गोलरहीत बराबरी खेलेको आर्मीले साविक विजेता मच्छिन्द्रलाई २–० ले पराजित गरेको थियो । यसैगरी एनआरटीले सातदोबाटो युथ क्लव र जावलाखेल युथ क्लवसँग समान २–१ को पराजय व्यहारेको थियो ।

लिगमा सोमवार पनि दुई खेल हुनेछन् । च्यासल मैदानमा आयोजना हुने खेल हिमालयन शेर्पा र खुमलटार युथ क्लव तथा दशरथ रंशालामा हुने खेल सातदोबाटो युथ क्लव र थ्री स्टार क्लवबीच हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);