ए डिभिजन लिगः फ्रेण्ड्सको फराकिलो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ए डिभिजन लिगः फ्रेण्ड्सको फराकिलो जित

काठमाडौं । स्टार खेलाडीले भरिएको चर्च व्वाईज क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमवार थ्री स्टार क्लवसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेण्ड्स क्लवले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाईज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हो । यससँगै चर्च ब्वाईजले शीर्ष स्थानको जावलाखेल युथ क्लवसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । शुरुवात बलमा पकड र आक्रामक खेल पस्किएपनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो । खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईले गोलको अवसर गुमाए । थ्री स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध अप्रत्यासित नतिजा निकालेको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाबिरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक÷एक गोल गरे । यस जितपछि फ्रेण्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगगेश क्षेत्र भन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

यससँगै शहीद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् । जावलाखेल युथ क्लव १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लव समान अंक भएपनि गोल अन्तरले पछि दोस्रो स्थानमा छ । विभागीय टोली नेपाल पुलिस क्लव रेलिगेशन क्षेत्रको अन्तिम स्थानमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);