आर्मीसँग चर्च ब्वाईज स्तब्ध, थ्री स्टारबिरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आर्मीसँग चर्च ब्वाईज स्तब्ध, थ्री स्टारबिरुद्ध मच्छिन्द्रको संघर्षपूर्ण जित

काठमाडौं । जिलेस्पीजंग कार्कीको निर्णायक गोलको सहयोगमा शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लवले उपाधि दाबेदार चर्च ब्वाईज युनाईटेडलाई स्तब्ध बनाउँदा अर्को खेलमा मच्छिन्द्र फुटबल क्लवले थ्रीस्टारलाई १–० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलको ४३औं मिनेटमा जिलेस्पीले जितेन्द्र कार्कीको क्रसलाई पेनाल्टी बक्सभित्र रहेका जिलेस्पीले हेडमार्फत जाली चुमाउँदा आर्मीले बलियो प्रतिद्वन्द्वी चर्च ब्वाईजसँग स्पष्ट तीन अंक खोस्न सफल भएको हो । यस अघि दुवै टोलीले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल भएका थिए । १९ औं मिनेटमा आर्मी नवयुग श्रेष्ठको फितलो प्रहार चर्च ब्वाइजका गोलकिपर प्रिसो एन्जाङ्गाले बचाउँदा त्यसको केही सेकेन्ड्समै दिनेश हेन्जनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गदै आर्मीको काउन्टरलाई विफल बनाएका थिए ।

२४औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा नवयुगको हेडर प्रिसोले बचाए । २८ औं मिनेटमा चर्च ब्वाइजका मौसम सुब्बाले गोलको सुनौलो अवसर गुमाए । पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका मौसमको फितलो प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल पारे । इन्जुरी समयमा मिलन राईको फ्रिकिकमा जोसेफ बेम्पाको गोलकिपर विकेसले बचाउँदा चर्च ब्वाइजले बराबरी गर्ने अवसर गुमायो ।

यससँगै चर्च ब्वाइजबिरुद्ध आर्मीले लिगका दुवै खेलमा सुखद् नजिता निकाल्न सफल भएको छ । पहिलो लेगमा पनि आर्मी १–० ले विजयी भएको थियो । जितसँगै १७ खेलमा २४ अंक जोडेको आर्मी पाँचौं स्थानमा उक्लिएको छ । पराजयसँगै चर्च ब्वाईजले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । चर्च ब्वाइज समान खेलबाट ३० अंकका साथ दोस्रो स्थानमा कायम छ ।

लिग अन्तर्गत च्यासल मैदानमा सम्पन्न खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लवले थ्री स्टार क्लवलाई स्तब्ध बनायो । खेलको १०औं मिनेटमा युटा सुजुकीले मछिन्द्रलाई अग्रता दिलाए । पेनाल्टी क्षेत्र भित्र अफिजको कडा प्रहारलाई थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए पनि रिबाउन्ड बललाई युटाले पोस्टको दिशा दिएका थिए । बाँकी समयमा थ्री स्टारले खेलमा फर्किने केही अवसर बनाए पनि सफल हुन सकेन र मच्छिन्द्रलाई अंक सुम्पिन बाध्य भएको हो । यससँगै थ्री स्टारले लगातार छैठौं खेलमा पनि जित बिहीन बनेको छ ।

शनिवारको जितसँगै मच्छिन्द्र तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट ३० अंक जोडेर मच्छिन्द्र तेस्रो स्थानमा अटाउँदा समान खेलबाट २५ अंक बनाएको थ्री स्टार चौथो स्थानमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);