नेम्वाङलाई मत माग्दै ओलीको पत्र बोकेर नेपाललाई भेट्न महेश पुुगेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेम्वाङलाई मत माग्दै ओलीको पत्र बोकेर नेपाललाई भेट्न महेश पुुगेपछि…

काठमाडौं, १५ फागुन । यही फागुन २५ मा हुने राष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन दर्तासँगै आफ्ना उम्मेदवारलाई मत माग्न नेकपा (एमाले) ले १७ ठाउँ पत्र पठाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै दल र स्वतन्त्र सांसदलाई पत्र पठाउनुभएको हो ।

संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई समेत पत्र लेखेर मत दिन अनुरोध गरिएको नेकपा एमालेले जनाएको छ । कांग्रेसको आफ्नै उम्मेदवार भएकाले उक्त दलबाट मत विभाजन नहुने भएपछि पत्र नपठाएको एमालेको भनाइ छ । एमाले सचिव पद्मा अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले आफ्नै उम्मेदवार कांग्रेसबाहेक सबै दल र स्वतन्त्र सांसदहरूलाई समेत गरेर १७ वटा पत्र लेखेका छौं । विश्वास छ, उहाँहरूले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिनुहुन्छ ।’ यो संविधान र लोकतन्त्रको रक्षाका लागि कानुनका ज्ञातासमेत रहेका नेम्वाङलाई उठाएका कारण गठबन्धनमा आबद्ध सबै दलहरूले उहाँलाई नै साझा उम्मेदवार मानेर मतदान गर्नुपर्ने अर्यालको भनाइ छ ।

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई मत माग्दै संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरूलाई पत्र पठाएको हो । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो । कांग्रेसबाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन पत्रमा अनुरोध गरिएको छ ।

एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेको पत्र बोकेर फागुन १३ गते नै एमाले नेता महेश बस्नेत एकीकृत समाजवादीको कार्यालय पुग्नुभएको थियो । बस्नेतसहितका एमाले नेताहरूले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेरै पत्र बुझाउन खोजे पनि अध्यक्ष बैठकमा व्यस्त भएको भन्दै नेपालका सहयोगीहरूले नै पत्र बुझेर एमाले नेताहरूलाई फर्काएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । उनले भने– ‘ओलीजीले पठाएको पत्र बोकेर महेशजीलगायत केही नेताहरू आउनुभएको थियो । तर, हाम्रो अध्यक्ष कमरेड बैठकमा भएकाले उहाँहरूले भेट्नुभएन ।’

ओलीले पठाएको पत्रपछि नेकपा एकीकृत समाजवादीले एमालेसँग संवादको ढोका खुलेको बताएको छ । तर, अहिलेकै अवस्थामा नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई मतदान गर्न नसकिने जनाएको छ । केही समय निरन्तर संवाद भइरहेमा एमालेसँगको सहकार्यको वातावरण बन्न सक्ने समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमालेका उम्मेदवारलाई अहिले नै मत हाल्ने भन्ने हुन्न, तर केही संवाद अघि बढाउनका लागि यो पत्र एउटा खुड्किलो बनेको छ । भविष्यमा सहकार्य गर्न सकिन्छ ।’

ओलीले अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर लेखेको पत्र नेता खतिवडाले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गर्नुभएको छ । पत्र पठाएकोमा ओलीलाई धन्यवाद दिँदै खतिवडाले यसबाट संवादको ढोका खुलेको र संवादको वातावरण बनिरहे भविष्यमा सहकार्यको वातावरण बन्न सक्ने उल्लेख गर्नुभएको हो । तर, राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा भने एमालेको आग्रह स्वीकार गर्न नसकिने खतिवडाले प्रस्ट भन्नुभएको छ । उहाँले लेखेको पत्रमा भनिएको छ– ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभए तापनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरे पनि सत्ताका अन्य दलहरूले यस विषयमा प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रले भने ओलीको पत्रले नयाँ समीकरणलाई असर नगर्ने बताएको छ । नेकपा ९माओवादी केन्द्र० का सचिव राम कार्कीले राजनीतिक कोर्स नयाँ समीकरण भएर अघि बढी सकेकाले रामचन्द्र पौडेलकै पक्षमा मतदान गर्ने सबै दलबीच सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उम्मेदवार भइसकेपछि भोट माग्नु स्वाभाविक हो । तर, एमालेका उम्मेदवारले मत पाउने कुरा फरक हो । राष्ट्रपतिलाई मत हाल्ने संसद्का अधिकांश दलहरूले रामचन्द्रजीलाई साझा उम्मेदवार बनाएकाले उहाँकै पक्षमा मतदान हुन्छ ।’

राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले भने यसमा केही बोलेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा भाग लिने की नलिने भन्ने नै अलमलमा छ । उक्त दलभित्र यो विषयमा दुई धार देखिएको नेताहरूले बताएका छन् । राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ । सरकारबाट बाहिरिएको राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने मत बलियो बन्दै गएको छ । प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन । राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पार्टीले निर्णय गरेर अघि बढ्ने जनाएको छ । उक्त दलको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलले रास्वपा सभापति रवि लामिछानेलाई भेटेर शनिबार नै मत मागिसक्नुभएको छ । पौडेलले सबै पार्टी दलका नेताहरूसँग भेटेरै मत माग्ने तयारीमा रहनुभएको पौडेलको सचिवालयले जनाएको छ । समाचारपत्र

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);