एमालेलाई सहयोग गर्न सक्दैनौं– एकिकृत समाजवादी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेलाई सहयोग गर्न सक्दैनौं– एकिकृत समाजवादी

काठमाडौं, १९ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा राष्ट्रपति पदको उम्मेदवारी दिएका ‘दुई चन्द्र’ रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले मत माग्ने कार्यलाई तीव्र बनाउनुभएको छ । गत १३ गते उम्मेदवारी दर्ता गराएसँगै अन्तरपार्टी नेता तथा सांसदहरूसँग उहाँहरूले आ–आफ्नै ढंगले मत मागिरहनुभएको छ ।

कांग्रेस–माओवादीसहितको आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई पत्र पठाएर मतदान गर्न आह्वान गर्नुभएको छ । त्यस्तै, उहाँले दलका शीर्ष नेताहरूसँगको भोटघाटलाई समेत निरन्तरता दिँदै आउनुभएको पौडेको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि मत माग्दै बिहीबार आयोजित आठ दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा पौडेलको पत्र बाँडिएको छ । उक्त पत्रमा उहाँले सानैदेखि संघर्ष थालेको बताउँदै यसअघि सत्तामा हुँदा आफू कहीँ कतै नचुकेको पनि जिकिर गर्नुभएको छ । उहाँले शान्ति वार्ता र संविधान निर्माणका क्रममा जनताको मानवअधिकार, स्वतन्त्रता, दिगो शान्ति, आर्थिक सामाजिक न्याय र समुन्नतिलाई हृदयमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने कुरालाई उद्देश्य बनाउँदै आएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ –‘सबै धर्म, संस्कृति, जात, वर्ग, लिङ्ग र समुदायको अधिकारको प्रत्याभूति रहेको वर्तमान संविधानको अक्षर र मर्मको परिपालना गर्दै परिवर्तनको जर्गेना गर्ने अठोटका साथ नेपाल राष्ट्रको राष्ट्रपतिको गरिमामय पदको लागि उम्मेदवारको रूपमा उपस्थित छु । नेपाली जनताका प्रिय प्रतिनिधि तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु ।’ समाजवादको सार ‘निमुखालाई न्याय र विपन्नलाई आय’ सबैको साझा सिद्धान्त हुनसक्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

त्यस्तै, नेकपा एमालेले पनि मनोनयन दर्ताकै दिन नेपाली कांग्रेसबाहेकका दलहरूलाई आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन आग्रह गर्दै पत्र पठाएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पठाइको पत्रपछि उम्मेदवार नेम्वाङ दलका नेताहरूसँग मत माग्न आफैं धाइरहनुभएको छ । उहाँले बिहीबार रास्वपाको पार्टी कार्यालयमै पुगेर उक्त दलका सभापतिसमेतका नेताहरूसँग मत माग्नुभयो । एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरूले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेको हो । यद्यपि, नेम्वाङले सांसदहरूलाई भने भट्नुभएको छैन । उक्त दलले सांसदहरूलाई राष्ट्रपति निर्वाचनमा मतदान गर्दा कुनै उम्मेदवारका पक्षमा ह्विप जारी नगरी स्वैच्छामा छाड्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले पनि पार्टीको तर्फबाट एमालेसहितका सबै दललाई नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मत दिन आग्रह गरेको चिठ्ठी पठाएको कांग्रेसमा मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आठ दलले साझा उम्मेदवारका रूपमा उठाएका पौडेलको पक्षमा एमाले, राप्रपा र रास्वपा बाहेक संसद्मा प्रतिनिधित्व हुने सबै दलले समर्थन गर्ने निर्णय नै गरिसकेका छन् । गत १३ गते बनेको आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले समेत बिहीबार एउटै मञ्चमा उभिएर पौडेलको पक्षमा मत मागेका छन् ।

अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा नेता राजेन्द्र श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका सांसद अब्दुल खान नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत नेताहरू सहभागी थिए । उहाँहरूले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए । पार्टीका शीर्ष नेताहरूले राजनीतिक स्थिरता, शान्ति र विकासका लागि चुनावअघि नै एक ठाउँमा भएका राजनीतिक शक्तिहरू बीचमा केही समय अलमलमा परे पनि पुनः एकै ठाउँमा आइपुगेको बताए ।

एमालेले पनि आफ्ना उम्मेदवार जिताउने हरसम्भव कोसिस गरिरहेको बताएको छ । यद्यपि, पौडेलको पक्षमा आठ दल एक ठाउँमा जुट्दा नेम्वाङका पक्षमा एमाले मात्रै देखिएको छ । गत पुस १० मा बनेको सत्ता गठबन्धनमा एमालेको कित्तामा रहेका राप्रपाले राष्ट्रपति निर्चाचनमा भाग नलिने संकेत गरेको छ भने रास्वपा कुनै पनि उम्मेदवारका पक्षमा खुलेको छैन । रास्वपाका सभापति रवि लामिछानेलाई गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता पौडेलले मनोनयनलगत्तै भेटेर सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

राष्ट्रपतिका उम्मेदवार पौडेल गठबन्धन दलहरूको मत कतै नजाने विश्वासका साथ १० हजारभन्दा बढी मतले जित्नेमा ढुक्क हुनुहुन्छ भने नेम्वाङ जनजातिको मत तानेर आफ्नो पक्षमा परिणाम निकाल्न सकिने मनस्थितिमा हुनुहुन्छ ।

संसद्मा ओलीको अभिव्यक्तिले सोच्न बाध्य बनायो– प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो अभिव्यक्तिबाटै आफूले विकल्पको सोच बनाएको बताउनुभएको छ । आठ दलका सांसदहरूका लागि बिहीबार दिउँसो नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार राचमन्द्र पौडेलको पक्षमा मत माग्न आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको दाहालले दाबी गर्नुभयो । ‘प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनायो’, प्रधानमन्त्री दाहालले भन्नुभयो– ‘अघिल्लोपटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौं । संसद् पुनस्र्थापना गर्न सडकसम्म गयौं । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।’

राष्ट्रपतिका उम्मेदवार रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको उहाँको दाबी छ । ‘गठबन्धनमा रहेका दलका साथै आम जनता पार्टी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ’, दाहालले भन्नुभयो– ‘उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।’ पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा आफूलाई अभूतपूर्व मत प्राप्त भएको भन्दै त्यही आधारमा राष्ट्रिय सहमतिका लागि बालुवाटारको पछिल्लो वार्तामा पनि निकै गम्भीरताका साथ एमाले अध्यक्ष ओलीलाई भनेको उहाँले बताउनुभयो । अघि भन्नुभयो– ‘मैले ओलीजीलाई बालुवाटार बैठकमा भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाईं र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाऔँ । तर, उहाँले मान्नुभएन ।

त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा आइपुगेका छौं । यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान् नेता उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेताहरू महन्त ठाकुर, अशोककुमार राई, राजेन्द्र श्रेष्ठ, बेदुराम भुसाल, रञ्जिता श्रेष्ठ, दुर्गा पौडेल, अब्दुल खानलगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा आठ दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिएर रामचन्द्र पौडेलका पक्षमा मत मागेका छन् ।

एमालेलाई सहयोग गर्न सक्दैनौं– नेकपा एस

नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्न नसक्ने बताएको छ । आफूहरू कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने समाजवादीले नेकपा एमाले नेताहरूलाई जवाफ दिएको हो ।
बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरूले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरूले मत मागेको र अध्यक्ष माधव नेपालले धन्यवाद दिँदै मत दिन नसक्ने बताउनुभएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

‘एमालेका साथीहरूले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ भेटघाटबारे जानकारी गराउँदै नेता खतिवडाले भन्नुभयो– ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरूलाई धेरै धन्यवाद भन्नुभयो ।’ राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र समर्थक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरूलाई गराएको खतिवडाले पुष्टि गर्नुभयो ।

‘राष्ट्रपति निर्वाचनमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएकाले तत्काल उहाँहरूलाई यसो गर्छौं भन्न सक्ने स्थिति पनि थिएन’, खतिवडाले थप्नुभयो– ‘त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ । मनन पनि गर्नुभएको छ ।’ आठ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार कांग्रेस नेता पौडेललाई मतदान गर्न सबैलाई आह्वान गर्नेसमेत खतिवडाले बताउनुभयो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);