राष्ट्रपति रामचन्द्र की सुवासचन्द्र ? हेरौं मतभार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रपति रामचन्द्र की सुवासचन्द्र ? हेरौं मतभार

काठमाडौं, १४ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा ती दुवै नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेस नेता पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, जसपासहित आठ राजनीतिक दलले साझा उम्मेदवार बनाएका छन् । नेम्वाङ भने एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहनुभएको छ । यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहनुभएको छ । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले कांग्रेसलाई सघाउने निर्णय भएपछि पार्टीले सर्वसममत निर्णय गरेर पौडेललाई उठाएको हो ।

एमालेको तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्बाङको प्रस्तावक र समर्थकमा ५–५ जना रहेका छन् । प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएका छन् । यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् । एमालेले कांग्रेसबाहेकका सबै दललाई राष्ट्रपतिमा सघाउन पत्राचार गर्ने निर्णयसमेत गरेको छ । सभामुखको भूमिकाका रहेर काम गरिसकेका दुवै नेता लामो राजनीतिक संघर्षबाट आउनुभएको हो ।

 

नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँहरूले इमान्दार, शालीन र संघर्षशील नेताको छवि बनाउनुभएको छ । सङ्घीय संसद्को सदस्य हुन योग्य, ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नठहरिएको व्यक्ति मात्र राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने व्यवस्था छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

यस्तो छ मतभार

राष्ट्रपति निर्वाचन लागि संघीय र प्रदेशसभा सांसदहरूले मतदान गर्न पाउने छन् । उक्त मतदाताको संख्या सङ्घीय संसद्को तीन सय ३२ र सातवटै प्रदेशसभा सदस्यको पाँच सय ५० गरी कुल आठ सय ८२ कायम रहेको छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपति निर्वाचन यी सबै सांसदहरूको मतभार कुल ५२ हजार ६ सय २८ हुन आउँछ । संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कुल ५२ हजार ६ सय २८ मत भारको ५० प्रतिशत बढी अर्थात् २६ हजार ३ सय १५ आवश्यक पर्दछ । परिस्थिति नबदलिएमा आठ दलको समर्थन पाएका कांग्रेस नेता रामचन्द्र पौडेलको पक्ष बलियो देखिएको छ ।

कांग्रेससँग १६ हजार १ सय ४२, माओवादीसँग ७ हजार ७ सय ४५, एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जसपासँग २ हजार १ सय ४५ मतभार छ । जनमतको १ हजार २ सय ४२, लोसपा ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीको ८ सय ९२, र राष्ट्रिय जनमोर्चा २ सय ६ गरी ३१ हजार ९ सय १७ मतभार कायम हुन्छ । यी बाहेक एमाले, राप्रपा, रास्वपासहित साना दलहरूको मतभार २० हजार ७ सय ११ मात्रै बाँकी रहने अवस्था छ ।

वर्तमान समीकरण अनुसारको मतभारका आधारमा पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बलियो सम्भावना देखिएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेलसहित कांग्रेसका नेताहरू र प्रधानमन्त्री प्रचण्डसमेतले रास्वापालगायत दलहरूलाई पनि साझा सहमतिका पक्षमा पौडेललाई मतदान गर्न आग्रह गरिसकेका छन् । २५ फागुनसम्म राजनीतिक भवितव्य केही नहुँदा पौडेल देशको चौथो कार्यकालका लागि राष्ट्रपति बन्ने पक्का भएकोमा विश्वस्त हुनुहुन्छ । यद्यपि, एमालेले पनि आफ्नो उम्मेदवारलाई जिताउन अनेकन राजनीतिक अभ्यासहरू गर्न शुरू गरिसकेको छ । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);