काठमाडौं । सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमले पहिलो पटक पीएम कपको उपाधि उचालेको हो। उपाधिसँगै सुदूरपश्चिमले ५ लाख र उपविजेता प्रदेश–१ ले ३ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
प्रदेश–१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा ग¥यो।
सुदूरपश्चिमको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन्। कविता जोशी १९ रनमा अविजित रहिन्। डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाइन्।
प्रदेश–१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १–१ विकेट लिए।
जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो।
प्रदेश १ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन्। यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन्।
सुदुरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन्।




