काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको पहिलो समयसीमा सकिनै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सांसदहरुबाट हस्ताक्षर संकलन गरेका छन् । देउवाले शनिबार सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर हस्ताक्षर संकलन गरेका हुन् ।
नयाँ सरकार गठनका लागि भण्डारीले दिएको समयसीमा आज साझ ५ बजे सकिदैछ । नयाँ सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्तागठबन्धनबीच सहमति हुन सकेको छैन् । सहमतिका लागि सत्तारुढ दलले अन्तिम प्रयास गरिरहेका छन् ।
प्रधानमन्त्रीको कुुर्सी दाबी गरिरहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेका छन् । माओवादीका ३२ सांसदहरु निर्वाचित भएका छन् । पाँच वर्ष थप मजबुद बनाउने उद्घोषका साथ चुनावमा एकसाथ गएका सत्तागठबन्धनभित्रका दलहरुबीच शक्ति बाँडफाँटको विषयलाई लिएर आपसी मतभेद सुरु भएको छ ।
राष्ट्रपतिका लागि कांग्रेस र समाजवादीले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् भने अन्य पदहरुमा गठबन्धनबीच सहमति जुट्न सकेको छैन् । सत्तागठबन्धन दलका नेताहरुबीच सरकारको नेतृत्वको लागि जुहारी चलिरहदा त्यसको फाइदा एमालेले उठाउन खोजिरहेको छ ।
एमालेले प्रधानमन्त्री पद हतियार बनाएर गठबन्धन भत्काउने रणनीतिमा छ । यसअघि नै गठबन्धन भत्काएर आए प्रधानमन्त्रीका लागि सहयोग गर्ने एमालेले माओवादीलाई आश्वासन दिइसकेको छ ।
नयाँ सरकारको नेतृत्व पहिलोपटक कसले गर्नेमा देउवा र दाहाल दुवैले दाबी गर्दै आएका छन् । सरकारको पहिलो नेतृत्व नपाए नेकपा एमालेसँग सहकार्य गरेरै भएपनि माओवादीले नेतृत्व लिने मनस्थितिमा छ । माओवादी उपमहासचिव वर्षमान पुनले एमालेसँगको तिव्ररुपमा छलफल अगाडी बढाइरहेका छन् ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद आफूले लिएर माओवादीलाई सभामुख दिने दाउ गरिरहेको बेला माओवादीका पुनले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाइरहेका छन् । प्रचण्ड प्रधानमन्त्री नहुने संकेत दखेपछि माओवादी गठबन्धनबाट बाहिरिने निष्कर्ष सहितको सन्देश देउवा समक्ष पुनले शनिबार पु¥याएका थिए । जवाफमा देउवाले सहकार्यका विभिन्न आयामहरू बाँकी रहेको भन्दै त्यस्तो निर्णय नगर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
तर काग्रेसका नेताहरुले भने आफ्नो पार्टी पहिलो भएकोले प्रधानमन्त्री र राष्ट्रपति कांग्रेसले पाउनुपर्ने बताइरहेका छन् । कांग्रेसले सबैलाई उचित सम्मान दिएर सरकारमा सहभागी गराउने पहल गरिरहेको भन्दै माओवादीले जनमत र सिट संख्यालाई बुुझ्नुपर्ने सांसद रामहरी खतिवडाको भनाइ छ ।
शनिबार बसेको गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । सरकार नेतृत्वबारे छलफल गर्न आज बैठक पुनः बस्दैछ । माओवादीले सरकारको सुरुको २ वर्ष आफुले नेतृत्व गर्न पाउने दाबी गरेको छ । त्यसैगरी एकीकृत समाजवादीले सरकारको १ वर्षे कार्यकाल आफुूले नेतृत्व पाउनुुपर्ने दाबी प्रस्तुत गरेको छ ।