काठमाडौं, २३ मंसिर । ‘जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वर पनि खुशी हुन्छन् ।’ शास्त्रमा यस्तो भनिएपनि नारीको असुरक्षा बढ्न थालेको छ । घर देखि कार्यथलो, सडक देखि गल्लीहरुमा महिला असुरक्षा बढ्न थालेको छ ।
देशमा महिला राष्ट्रपति हुनुहुन्छ । महिला सभामुख अनि उपप्रधानमन्त्री भइसक्नुभयो । नीतिनिर्माण तहमा महिलाको सहभागिता बढेसँगै अधिकार र समानताका आवाज बुलन्द भए । तर, महिला हिंसाका घटनामा कमी आएन । घर देखि कार्यथलोसम्म, सडक देखि गल्लीहरुसम्म महिला हिंसा भइरहे ।
२०७५ मा निर्मला पन्तको बलात्कार पछिको हत्या गरिएको शव सडक छेवैको उखुबारीमा भेटियो । दोषी अझै पत्ता लागेन । हेटौंडामा २०७७ को असारमा हत्या गरिएको अवस्थामा भेटिएकी सुस्मिता थापाको परिवारले नै ज्यान लिएको खुल्यो । यसै वर्षको साउनमा सर्लाहीको शीतलपुरमा गाडिएको अवस्थामा फेला परेको निशा यादवको हत्यामा पति, ससुरा र देवर संलग्न भएको खुल्यो । परिवारबाट नै महिला असुरक्षित हुनथालेको उदाहरण हुन् यी । सुर्खेतमा अमरबहादुर आलेले पत्नीको टाउको काटेर प्लाष्टिकमा बोकेर हिंडको भयावह दृश्य सार्वजनिक भयो । यसरी महिलाहरु आफ्नै भन्नेहरुबाट सबैभन्दा बढी असुरक्षित भएका छन् । पुष्पा न्यौपानेको आत्मदाहले महिलामाथि धोकाधडीका कारण दुरुत्साहन बुझ्न सकिन्छ । हुनत महिला हिंसाविरुद्ध सचेतना कार्यक्रमहरु नगरिएका होइनन् । ‘सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा बिरुद्धको अभियान’ का लागि लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलाइएको छ । अभियान ३२ वर्ष पूरा भइसक्यो तर हिंसा घट्न सकेन ।
नेपाल सरकारको पन्ध्रौँ योजनामा महिला विरुद्धको हिंसालाई ५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । तर, लक्ष्य पूरा हुनुको साटो उल्टो घटना बढ्दो छ ।अधिकारकर्मी महिला मजबुत हुने हो भने हिंसा गर्ने आँट कसैले गर्न सक्दैन । यसका लागि आर्थिक, सामाजिक, राजनैतिक र सांस्कृतिक अधिकारको सुनिश्चितता अनिवार्य हुन्छ ।