शिक्षित परिवारमा पनि महिला हिंसाका घटना बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शिक्षित परिवारमा पनि महिला हिंसाका घटना बढ्दो

फूलमाया आले

काठमाडौं, १८ मंसिर । शिक्षित परिवारमा पनि महिला हिंसाका घटना भइरहेको महिला अधिकारकर्मीले बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित कार्यक्रममा महिला अधिकारकर्मीले शिक्षित परिवारकै महिला हिंसाको शिकार भएको बताएका हुन् ।

सन् २००५ मा विश्व स्वास्थ्य संगठनले ल्याएको तथ्याङ्क अनुसार संसारभर कम्तीमा ३ मध्ये १ महिलाले आफ्नो जीवनभर भौतिक हिंसा व्यहोरेका हुन्छन् ।

दक्षिण एसियामा गरिएको सर्वेक्षणअनुसार, झन्डै ५० प्रतिशत महिलाले निजी जीवनसाथीबाट भौतिक र यौनिक हिंसा भोगेका यूएन वुमनले जनाएको छ । नेपालमा गत वर्षको असार २०७३ देखि जेठ २०७४ सम्म १४ हजार ९३ महिलाविरुद्ध हुने विभिन्न प्रकारका हिंसाका घटनाहरु नेपाल प्रहरीमा दर्ता भएका छन् ।

जसमध्ये ११ हजार ६ सय ५२ घरेलु हिंसाका घटनाहरु रहेका छन् । त्यस्तै राष्ट्रिय महिला आयोगमा पनि गत वर्ष उजुरी परेका ३ सय ४१ मध्ये २ सय ७३ वटा घरेलु हिंसा कै मुद्दा थिए ।

विगतमा शिक्षाको अभावलगायतका कारण महिला हिंसाका घट्ना बढेको बताइन्थ्यो । तर अहिले व्यवस्था र परिवेश फेरिएको छ । धेरै मानिस शिक्षित बनेका छन् । तर पनि महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । अझ, शिक्षित परिवारमै महिला हिंसाका घटना बढी देखिएको अधिकारकर्मीहरु बताउँछन् ।

नेपाल स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ का अनुसार ६६ प्रतिशत महिला, जसले कुनै न कुनै भौतिक वा यौनिक हिंसा सहनु परेको छ । उनीहरुले कुनै किसिमको सहयोग वा हिंसाको प्रतिकार गर्न वा रोक्नलाई आफ्ना अनुभव कसैसँग साट्दैनन् पनि ।

त्यस्तै ३४ प्रतिशत महिला जसले श्रीमान्द्वारा भौतिक वा यौनिक हिंसा भोगेका हुन्छन् । यसै तथ्याङ्कलाई मध्यनजर गर्दै आयोगले निशुल्क हेल्प लाइन सेवा सुरु गर्न लागेको जनाएको छ ।

महिलामाथि हुने कुनै पनि किसिमका हिंसा रोक्न सबै एकजुट हुनु आवश्यक रहेको अधिकारकर्मीले बताएका छन् । अझ शिक्षित परिवारमै महिला पीडित बनेर बस्नु विडम्बना भएको बताउँदै उनीहरुले महिलामाथि हुने हिंसा रोक्न राज्य पक्षबाटै प्रभावकारी पहल हुनुपर्ने माग पनि गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);