महिला हिंसाका घटना बाहिरिने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला हिंसाका घटना बाहिरिने क्रम बढ्यो

फूलमाया आले
काठमाडौं, ८ चैत । पछिल्लो समय महिला हिंसाका घटना बाहिरिने क्रम बढेको छ । राष्ट्रिय महिला आयोगका अनुसार ‘हिंसा सहिरहे त्यसले जटिल परिस्थिति निम्त्याउँछ’ भन्ने सोचको विकास भएकाले हिंसाका घटना बाहिर आउने क्रम बढेको हो । यद्यपि, कतिपय घटनालाई प्रहरी प्रशासन र जनप्रतिनिधिकै रोहबरमा गुपचुप गर्ने प्रवृत्ति भने ठूलो चुनौतीका रुपमा देखिएको छ ।

महिला हिंसाबाट पीडितलाई न्याय दिलाउन भन्दै गत मंसिर २४ देखि राष्ट्रिय महिला आयोगले ‘खबर गरौँ ११४५मा’ भन्दै निशुल्क हेल्पलाइन सेवा सुरु गरेको थियो । त्यस यता फागुन १५ गतेसम्म महिला हिंसाका घटना भएको भन्दै १६ हजार ५ सय २३ कल आयो । तीमध्ये ५ सय ६६ कल वास्तविक थिए । तर, आयोगले तत्कालै २ सय ८ वटा मुद्दा अदालती प्रक्रियामा लगेको छ ।

विगतमा सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरू आफूमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहँदैन थिए । तर, पछिल्लो समय अन्याय सहेर बस्न हुँदैन भन्ने चेतनाको वृद्धि भएकाले महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको अधिकारकर्मीहरु बताउँछन् । आयोगमा गत आर्थिक वर्ष ३ सय ४१ उजुरी दर्ता भएकोमा चालु आर्थिक वर्षमा ३ सय ५० उजुरी दर्ता भएका छन् ।

महिलाहरुमा आफूमाथि भइरहेको हिंसाविरुद्ध आवाज उठाउने हिम्मत बढ्दै गर्दा अर्कोतर्फ यस्तो साहसलाई दबाउने किसिमका घटना पनि भइरहेका छन् । काठमाडौँको दरबारमार्ग, सुनसरीको धरान र कैलालीको घोडाघोडी नगरपालिकामा महिलामाथि भएका अमानवीय घटनालाई गुपचुप गराउन प्रहरी प्रशासन र जनप्रतिनिधिकै संलग्नता भेटिनुले महिलालाई निरुत्साहित बनाइरहेको महिला अधिकारकर्मीहरु बताउँछन् ।

यस्तो प्रवृत्तिको अन्त्य गर्न भएको कानुन कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उनीहरु बताउँछन् ।

देशले राजनीतिक रूपमा युगान्तकारी फड्को मारेसँगै सामाजिक चेतनास्तरमा पनि केही परिवर्तन आएको छ । तर, अझै महिला वर्गले सदियौँदेखि खेप्दै आएको विभेद र हिंसा हट्न सकेको छैन । यस्तो अवस्थामा हिंसामुक्त समाजको कल्पना सार्थक नबन्ने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);