महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

महिला हिंसाका दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्छ

काठमाडौं, १९ चैत । महिला नेतृहरुले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजाय हुने गरि हिंसा विरुद्धका कानुन परिमार्जन गर्न सरकारलाई दबाब दिएका छन् । विभिन्न राजनीतिक दलका भगिनी संगठनहरुको संयुक्त संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरि महिला हिंसा अन्त्यका लागि विद्यमान ऐनलाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

दिनहुँ बालिका बलात्कारका घटना सार्वजनिक भईरहेका बेला घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनका लागि राज्य पक्ष गम्भीर नबनेको भन्दै नेतृहरुले तत्काल विद्यमान कानुनमा परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेतृहरुले विश्वका कयौ लोकतान्त्रिक मुलुकले महिला हिंसाका दोषीलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था कानुनमा गरेको उल्लेख गर्दै नेपालमा पनि त्यही किसिमको कानुन बनाउनु पर्नेमा जोड दिए ।

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बालिका बलात्कृत हुने, बोक्सीको आरोपमा महिलामाथि गरिएको दुर्रव्यवहारका घटना लगायत महिला हिंसाका घटना दैनिक जसो आईरहँदा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् । उनले बलात्कार जस्तो जघन्य अपराधका अपराधीलाई मृत्युदण्डको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

अन्तर पार्टी महिला सञ्जालकी उपाध्यक्ष पुष्पा ठाकुरले राजनीतिक संरक्षणबाट महिला हिंसाका अपराधीले उन्मुक्ति पाउने गरेकाले पनि हिंसाका घटना नियन्त्रणमा आउन नसकेको भन्दै कडा कानुन बनाउन माग गरिन् ।

महिला हिंसाका दोषीलाई कानुनी दायरमा ल्याई हिंसा अन्त्यका लागि सरकारले तत्काल प्रयास नगरे कडा संघर्षमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

पछिल्लो समय बालिका बलात्कृत भएका घटना दैनिक जसो छापा माध्यममा आउने गरेका छन् । संगै अपराधीहरु कानुनी दायरामा नआएको र कुनै न कुनै शक्ति केन्द्रको संरक्षण पाएको खबर पनि आउने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);