महिला हिंसाका ९० प्रतिशत दोषीलाई कार्वाही गरिएको गृहमन्त्रीको दावी | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

महिला हिंसाका ९० प्रतिशत दोषीलाई कार्वाही गरिएको गृहमन्त्रीको दावी

काठमाडौं, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कार, हत्या लगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कार्वाही गरिएको बताएका छन् ।

बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धि सरकारको काम कार्वाहीबारे संघीय संसदको महिला तथा सामाजिक समितिलाई जानकारी गराउँदै उनले बाँकी १० प्रतिशत सो सम्बन्धि घटनाका दोषीलाई पनि छिट्टै कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरे ।

गृहमन्त्री थापाले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न ढिलाई नहुने आश्वासन पनि दिए । उनले घटनाको तथ्य बाहिर ल्याउन सरकारले छानबिनमा त्रुटि गर्नेमाथि कार्वाही गरेको पनि समितिलाई स्मरण गराए ।

गृहमन्त्री थापाले महिला हिंसाको घटनालाई राजनीतिकरण नगर्न पनि सबैलाई आग्रह गरे । गृहमन्त्री थापाले समिति समक्ष विगत ५ महिनायता ७ सय १० वटा जब्बरजस्ती करणीको घटना घटेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मदिरा सेवन, लागू औषध सेवनलगायतको कामलाई निष्तेज पार्न प्रभावकारी कदम चालिरहेको दावी गरे ।

बैठकमा समितिका सदस्यहरुले बढ्दो महिला हिंसा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिए । समितिकी सदस्य गंगा चौधरीले फाँसीको सजाय दिएर मात्रै महिला हिंसा नियन्त्रण हुन नसकेको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

बैठकमा समितिका सदस्यहरुले महिला हिंसाका दोषीलाई कार्वाहीको दायरामा ल्याउने काममा गम्भिर बन्न पनि गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । विगत ५ महिनायता नेपालमा महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

ताजा समाचार