निर्मला हत्याकाण्ड : एकदिन अगावै गराइएको थियो बुवाको सनाखत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मला हत्याकाण्ड : एकदिन अगावै गराइएको थियो बुवाको सनाखत

niru

काठमाडौं, ११ असोज । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने बताए। समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायत सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए।

जवाफमा गृहमन्त्री थापाले प्रहरी प्रशासनको कमजोरी स्वीकार गरे। ‘११ गते नै निर्मलाका बुवाको औंठाछापसहित मुचुल्का उठाइएको रहेछ’, उनले भने, ‘जबकि निर्मालाका बुवा भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केका रहेछन्।’ यस्तै निर्मलाले लगाएको लुगा सुरक्षित गर्नुको साटो जलाइनु पनि गम्भीर कमजोरी भएको उनले स्वीकार गरे। ‘यस्तो घटनामा त लुगा सुरक्षित राख्नुपर्ने हो’, उनले भने, ‘त्यहाँ त मृतकले लगाएको लुगा जलाउन लगाइएको रहेछ।’ साउन १० गते साथीको घरबाट फर्केपछि हराएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो।
निर्मलाको हत्या भएको दुई महिनाभन्दा बढी हुँदा पनि दोषी पहिचान नगरेको भन्दै सांसदहरूले गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति समितिमा तीव्र असन्तुष्टि जनाएका थिए। ‘निर्मलाकाण्डले प्रहरीको कार्यक्षमतामाथि शंका गर्ने ठाउँ छ’, गृहमन्त्री थापाले भने, ‘तर हाम्रो इमान्दारी र निष्ठामाथि प्रश्न नगर्नुहोला। धैर्य गरौं, दोषीलाई कठघरामा उभ्याउँछौं।’

नेमकिपाका सांसद प्रेम सुवालले दोषीलाई कहिले कारवाही हुन्छ भनी सोधेका थिए। ‘दोषी कहिले भेटिन्छ भनेर गृह मन्त्रालय र प्रहरी ज्योतिषी होइन’, गृहमन्त्री थापाले भने, ‘छिटोभन्दा छिटो दोषीलाई कारवाहीको दायरामा ल्याउने मेरो प्रतिबद्धता हो।’ निर्मला हत्याकाण्डलाई सरकार र आफ्नो पार्टीले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै उनले भने, ‘यो घटनालाई राजनीतिक मुद्दा नबनाऔं। त्यसो भयो भने अपराधी पत्ता लगाउन कठिन हुन्छ।’ निर्मला हत्याकाण्डमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई निलम्बन गरी अनुसन्धान अघि बढाइएको उनले बताए।

‘निर्मलाकाण्डले प्रहरीको कार्यक्षमतामाथि शंका गर्ने ठाउँ छ।’
–रामबहादुर थापा, गृहमन्त्री

निर्मलाकाण्ड छानबिन गर्न गठित समितिबाट वीरेन्द्र केसीले राजीनामा दिएको विषयमा पनि गृहमन्त्रीले समितिमा प्रष्ट्याए। पुरानो समितिले राम्ररी काम गर्न नसकेको र गृह मन्त्रालयसँग सम्पर्क हुन नसकेपछि केसीले समितिबाट राजीनामा दिए पनि पछि समितिमा रहेर भूमिका खेलेको जानकारी उनले दिए। अनियन्त्रित मदिरा, अश्लील साइटको प्रयोग र सामन्ती सोचका कारण महिलामाथि बलात्कार र हिंसा बढेको उनले दाबी गरे। अश्लील साइट बन्द गर्ने तथा मदिरा नियन्त्रण गर्न देशभर अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
गृहसचिव राईले बेरोजगारी समस्या, विकृत मानसिकता र मादकपदार्थको अनियन्त्रित सेवनले महिलाविरुद्ध हिंसा बढेको बताए। प्रहरी महानिरीक्षक खनालले केही अमुक घटनाका आधारमा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि प्रश्न नउठाउन सांसदहरूको ध्यानाकर्षण गरे। ‘निर्मला हत्याकाण्डमा कोही संलग्न भए जोगाउँछ कि भनेर नसोच्नुहोला’, उनले भने, ‘जे जे कारवाही गर्नुपर्छ, गर्छु। यस्ता घटनामा कोही पनि संरक्षित हुन सक्दैन।’ कञ्चनपुरका निलम्बित एसपी डिल्ली विष्टमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै उनले विष्ट दोषी पाइए जेल हाल्ने प्रतिबद्धता जनाए।

कांग्रेस सांसद सिंहले महिला बलात्कारदेखि सुनकाण्डसम्म कुनै पनि घटनाको छानबिन निष्कर्षमा पुर्याउन गृह प्रशासन सक्षम नभएको भनी आलोचना गरे। नेकपाका सांसद रेखा शर्माले अनुसन्धान प्रक्रियामा प्रहरी प्रशासनकै लापरवाही हुनु गम्भीर घटना भएको बताइन्। नेकपाकी अर्का सांसद विन्दा पाण्डेले अपराध अनुसन्धानमा महिलाको संख्या बढाउन माग गरिन्। नेकपाकै यशोदा सुवेदीले अपराधीलाई कानुनी दायरामा ल्याउन मुख्य समस्या के के हुन् भनी गृहमन्त्रीसँग प्रश्न गरिन्।

राजपा सांसद राजकिशोर यादवले निर्मला हत्याकाण्डमा राजनीतिक संरक्षणका कारण ठूला मान्छे जोगाउने प्रयास भएको आरोप लगाए। ‘अपराधी बलियो भएर गृह प्रशासन कमजोर भएको त होइन रु ’ उनले प्रश्न गरे। कांग्रेसका दिलेन्द्रप्रसाद बडूले निर्मला हत्याकाण्डका दोषीलाई कारवाही गर्न नसके अपराधीको मनोबल बढ्ने बताए। नेकपाका सुजिता शाक्यले सरकारलाई असफल बनाउन प्रतिगामी तत्वहरू सल्बलाएर देशैभर हत्या हिंसा मच्चाएको आरोप लगाउँदै गृह प्रशासन चनाखो हुनुपर्ने बताइन्।

प्रहरीलाई काम गर्न दिऊँ सिलवाल

नेकपाका सांसद एवं नेपाल प्रहरीका पूर्वएआईजी नवराज सिलवालले राजनीतिक हस्तक्षेपका कारण प्रहरी प्रशासन कमजोर बनेको आरोप लगाए। ‘प्रहरी नेतृत्वलाई सबै अधिकार दिएर काम गर्न दिऊँ’, उनले भने, ‘प्रहरी नेतृत्वलाई एक महिना मात्र स्वतन्त्र रूपमा काम गर्न दियौं भने नतिजा आउँछ।’
निर्मला हत्याकाण्डमा पनि प्रहरी महानिरीक्षकले त्यहाँको प्रहरी नेतृत्वलाई हटाउन खोज्दा राजनीतिक संरक्षणले अवरोध गर्यो’, उनले भने, ‘प्रहरीलाई प्रहरीको रूपमा काम गर्न दिइएन।’ विगतदेखि नै प्रहरी प्रशासन राजनीतिक हस्तक्षेपले निरीह बनेको उनले दाबी गरे। ‘आईजीपीले सरुवा, बढुवा, नियुक्ति गर्न नपाए प्रहरीको संयन्त्रले काम गर्न सक्दैन’, उनले भने, ‘आईजीपीलाई सबै अधिकार दिए २४ घण्टा नसुतेर प्रहरीले काम गर्छ।’
दोहोर्याएर अनुसन्धान गर्न माग
नेपाल मानव अधिकार संगठनले दुई महिनाअगाडि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तसम्बन्धी घटनाका प्रमाण सबै नष्ट गरिएको भन्दै सुरूदेखि छानबिन गर्न माग गरेको छ। सरकारले सार्वजनिक गरेको छानविन प्रतिवेदनमा असन्तुष्टि जनाउँदै संगठनले यस्तो माग गरेको हो।

संगठनले बुधबार राजधानीमा एक कार्यक्रम गरी छानविन प्रतिवेदन सार्वजनिक गर्दै घटनाको सबै प्रमाण नष्ट गरिएको, निर्दोषलाई यातना दिइएको, प्रहरी प्रशासन घटनाको अनुसन्धान दवाउन लागेको, गैरकानूनी तवरवाट अत्याधिक वल प्रयोग गरिएको, बलत्कार र हत्या जस्तो गम्भीर मानव अधिकार उल्लघंनका घटनामा पनि राजनीतिकरण गरिएको निष्कर्ष निकालेको छ।

संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, प्रहरी/प्रशासनबाट दोषी वचाउने काम भएको बताए। ‘हत्याका दोषीलाई पत्ता लगाएर कारर्वाहीको दायरामा ल्याउन र गैरकानूनीरुपमा अत्याधिक वल प्रयोग गरी जनधनको क्षति गराउने प्रहरी प्रशासनका अधिकारी माथि कानून वमोजिम कारवाही गरिनुपर्छ,’ अर्यालले भने।

निर्मला हत्या घटनाको बिषयमा छानविन गर्न सरकारले भदौ ७ मा हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिले मंगलबार मात्रै छानविनको प्रतिवेदन बुझाएको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);