कांग्रेसमा संसदीय दलका आकांक्षी आधा दर्जन, कसको पल्ला भारी ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसमा संसदीय दलका आकांक्षी आधा दर्जन, कसको पल्ला भारी ? (भिडियोसहित)

काठमाडौं, २२ मंसिर । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि नेपाली काँग्रेसका नेता कार्यकर्तामा उत्साह देखिन्छ । काँग्रेस भावी सरकारको नेतृत्वको मुख्य दाबेदार देखिएसँगै प्रधानमन्त्रीको दौडमा उक्त पार्टीबाट को अगाडि देखिएला भन्ने चासो पनि बढेको छ । काँग्रेसबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ र उक्त पदमा तीन पुस्ताका आधा दर्जन नेताहरु देखिएका छन् ।

नेपाली काँग्रेस प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि प्रभावशाली नेताहरुबीच संसदीय दलको नेताको दौड तिव्र भएको छ । दौडमा काँग्रेसका तीन पुस्ताका नेताहरु देखिएका छन् । काँग्रेसको विधान अनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्न सक्छ । यसकारण संसदीय दलको नेताको दाबीलाई भावी प्रधानमन्त्रीको दाबेदारी रुपमा बुझिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा छैठौंपटक प्रधानमन्त्री बन्ने सपना बुनेर संसदीय दलको नेता बन्ने तयारीमा छन् । पार्टीको केन्द्रीय कमिटिमा भारी बहुमत रहेका देउवाको संसदीय दलमा पनि बहुमत रहेको दाबी उनी पक्षका नेताहरुको छ ।

यसकारण पनि देउवाको पल्लाभारी रहेको आँकलन गरिन्छ । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महत संसदीय दलमा फेरि देउवा नै चयन हुने दाबी गर्छन् ।

काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला पनि संसदीय दलको नेताको दाबेदार हुन् । कोइराला पक्षकै महामन्त्री गगन थापाले पनि दाबेदारी प्रस्तुत गरेका छन् । कोइराला पक्षका नेता सञ्जय गौतम संसदीय दलमा नयाँ नेता चयन हुने दाबी गर्छन् ।

काँग्रेसका पाका नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेताको दाबेदार हुन् । उनले चुनाव जितेलगत्तै आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । संसदीय दलको नेताको दौडमा पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि छन् । उनले मुख भने खोलेका छैनन् । अर्का पूर्वमहामन्त्री डा. सशांक कोइराला पनि दाबेदार देखिन्छन् । तर, देउवा पक्षका नेताहरु नयाँलाई मौका नदिने रणनीतिमा छन् ।

उमेरका हिसाबले संसदीय दलको नेताको दौडमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल ८० को नजिक छन् । डा. शेखर कोइराला ७० पार गरेका छन् । प्रकाशमान सिंह र डा. सशांक कोइराला ७० नजिक छन् । गगन थापा ५० को नजिक पुगेका छन् । फरक पुस्ताका नेताहरुबीच संसदीय दलको नेता बन्ने दौडले काँग्रेसभित्रको मात्र नभई देशकै राजनीतिलाई रोचक बनाउँदै लगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);