विराटनगरमा ५४ औं संस्करणको रथयात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

विराटनगरमा ५४ औं संस्करणको रथयात्रा सुरु

विराटनगर । विराटनगर प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा शनिबार अपरान्ह ३ बजेबाट सुरु भएको छ।

विधिवत् रूपमा पूजाअर्चना गरेपछि तिनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट ५४ औं संस्करणको रथयात्रा सुरु भएको हो। तिनपैनीबाट निस्किएको रथयात्राले यसपटक विराटनगरको मेनरोडबाट रोडशेष पुगेर कोशी राजमार्ग हुँदै नगर परिक्रमा सहित कूल ९ किलोमिटरको दूरी तय गर्नेछ।

तिनपैनीको पानी ट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा शंकरपुर मोड, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर र मुनालपथबाट बरगाछी हुँदै पुनः तिनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर विर्सजन हुनेछ।

रथयात्राका लागि सुनौलो रङ्गमा पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ। युगल जोडी राधाकृष्ण विराजमान रथलाई तान्न रथको अग्रभागको दायाँ र बायाँ दुवैपट्टि ५० फिट लामो लठाको व्यवस्थापन गरिएको छ।

सोही लठालाई तानेर रथलाई नगर परिक्रमा गराइने छ। यसपटकको रथयात्राका लागि नगरक्षेत्रभित्र २३ ठाउँमा विश्रामस्थलको प्रबन्ध मिलाइएको आयोजक समितिले जनाएको छ।

भारतको जगन्नाथ पुरी पश्चात विराटनगरको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा हो। विगतमा झैं यसपटक पनि यहाँको रथयात्रा अवलोकन गर्न प्रदेश १ र मधेश प्रदेशसहित भारतको बिहारसम्मका हजारौं भक्तजन नेपाल आएका छन्।

रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन मोरङ प्रहरीले यसवर्ष पनि धेरै सुरक्षाकर्मी परिचालन गरेको छ। रथयात्रामा नेपाल प्रहरीको ७००, ट्राफिक प्रहरीको १००, सशस्त्रको १६० र स्वयंमसेवक १५० जना जनशक्ति परिचालन गरिएको जनाईएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);