कर्णालीमा टिकट वितरण : नातागाेता र गुट प्रथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कर्णालीमा टिकट वितरण : नातागाेता र गुट प्रथमिकतामा

सुर्खेत । यस पटककाे स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश दलले उम्मेदवारकाे टिकट वितरणमा आफन्त र गुटका कार्यकर्तालाई प्राथमिकता दिएकाे आराेप छ । गुट र आफन्तकाे दबाबका कारण टिकट पाउनेको ठुलै जमात रहेकाे कार्यकर्ताहरूकाे गुनासाे छ ।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीका बाबा गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः उम्मेदवार भएका छन् । हिमा गाउँपालिका अध्यक्षका उम्मेदवार अमरजंग शाही माओवादी नेता तथा पूर्व राज्यमन्त्री गोमा कुँवारका भाइ हुन् । गोमाकै श्रीमान् वीरबहादुर कुँवर तातोपानी गाउँपालिकाका अध्यक्षका उम्मेदवार छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाय सांसद गजेन्द्रबहादुर महतका नातेदार पर्छन् ।

जाजरकोट जुनिचाँदे गाउँपालिकाकी उम्मेदवार शिवा आचार्य (बस्नेत) नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामदिप आचार्य र मायाप्रसाद शर्माकी नातिनी हुन् । उनी गुटको हिसाबले माओवादी नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतसँग नजिक छन् । आचार्यमा यो भन्दा पहिला गाउँपालिका कार्यवाहक अध्यक्ष भएर गाउँपालिका चलाएको अनुभव छ । जनसँस्कृतिक परिवारमा काम गर्ने कलाकार आचार्य शान्ति प्रक्रियासँगै सक्रिय राजनीतिमा लागेकी थिइन ।

जुनिचाँदेमा माओवादीले स्थानीय तहको चुनाव लड्दा भूगोलको समिकरण मिलाउन आचार्य परिवारको चर्को दबाबपछि उनलाई गाउँपालिकाको उपाध्यक्षको टिकट दिइएको थियो । त्यसपछि माओवादीको राम्रो पकट रहेको जुनिचाँदेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो । गाउँँपालिकाका अध्यक्षलाई अख्तियारले घुससहित फेला पारेको भन्दै कारवाही गारेपछि आचार्यले कावा अध्यक्ष चलाएकी थिइन । अहिले उनै शिवा गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेकी छिन् ।

दैलेखको नारायण नगरपालिका प्रमुखमा  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन । कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा विन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाएका छन् । मन्त्री शाहीकै दबाबमा उनलाई उम्मेदवार बनाएको आरोप छ ।

दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत रहेकी उनी निर्वाचित भएदेखि पाँच वर्षसम्म गाउँ नआएको आरोप छ ।

नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् । रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाएका छन्  । उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाईका छोरा हुन् ।

जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पार्टी सभापति वेदराज सिंहका नजिकैका नातेदार हुन् । योभन्दा अगाडि शाह गाउँपालिकाको अध्यक्ष नै थिए । माओवादीबाट जाजरकोटकै भेरी नगरपालिकाको उपमेयरकी उम्मेदवार रहेकी कृष्ण शर्मा माओवादी नेता रामदिप आचार्य, मायाप्रसाद शर्माकी नातिनी हुन् । उनका पति योभन्दा अगाडि नेकपा माओवादी केन्द्र जाजरकोटका अध्यक्ष थिए । जुनिचाँदे गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार शिवा र कृष्ण सोहदर दुई बैनी हुन् ।

नेकपा एमाले निकट शिक्षक तथा बुद्धिजिवी परिषद्का गोरखबहादुर सिंहकी श्रीमती गीता सिंह जाजरकोटको बारकोट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार हुन् । एमालेका केन्द्रीय सदस्य डम्बर सिंहका भान्जा भक्तबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);