तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

तनहुँ । आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् ।  यही क्रममा तनहुँमा कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी  पार्टी र राप्रपालगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् । उम्मेदवारी दिने र उम्मेदवारीम आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसकाे पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि मात्रै टुंगो लाग्नेछ ।

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले फेरि दोहोरिने इच्छा देखाएका छन् । उनले नेपाली कांग्रेस व्यास नगर कार्य समितिमा मेयर बन्ने आकंक्षा देखाउँदैैँ आवदेन दिएका छन् । उनीसँगै मेयर बन्ने दौडमा कांग्रेसका १५ जना छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेदेखि पत्रकार डम्मरबहादुर अधिकारी व्यासको मेयर बन्ने दौडधुपमा छन् ।

शुक्लागण्डकीका मेयर किसान गुरुङले पनि फेरि एक पटक मेयर हुने आकांक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट शुक्लागण्डकीको मेयरमा बलियो दाबेदार भएको राजनीतिक वृत्तमा चर्चा छ ।

भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले पनि एक कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएर लबिङ गरिरहेका छन् । आफू बलियो उम्मेदवार भएकाले यसपालि टिकट पाउनु पर्ने मेयर थापाको माग छ । ‘कोरोना महामारीले धेरै काम गर्न पाइएन् । दुई वर्षको समय कोरोनाले नै  खायो । एक पटक फेरि मलाई दिनुपर्छ भन्ने छ उहाँको माग,’ नेकपा एमाले भिमाद स्रोतले भन्याे ।

भानु नगरपालिकाका मेयर उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । भानु नगरपालिबाट प्रमुख र उपप्रमुखको आकांक्षीहरूको नामावली संकलनमा उनले भने बुधबार नाम दर्ता नै गराएनन् । उनको चाहाना जिल्ला समन्वय समितिमा जाने बुझिन्छ । भानु नगरपालिका–११ को वडा सदस्य हुँदै जिल्ला समन्वयमा जाने तयारीमा लागेको चर्चा छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पनि फेरि इच्छा देखाएकी छिन् । उनी जिल्लाको १० स्थानीय तहमा एक मात्र महिला प्रमुख हुन् । म्याग्देमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि यसपालि अध्यक्ष बन्न जोडबल गरेका छन् ।

ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको फेरि दोहोरिने इच्छा छ । नेपाली कांग्रेसको पकड मानिएको ऋषिङमा उनी मात्रै नभएर संविधानसभा सदस्य झुलबहादुर आलेसहित १३ जनाले अध्यक्षमा इच्छा जाहेर गरेका छन् ।

घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाको पनि दोहोरिने इच्छा छ । उनले पार्टीमा दावी पनि गरेका छन् । ‘फेरि अध्यक्ष हुने आफूमा मात्रै भर पर्दैन् । पार्टीले, जनताले अनुमोदन गर्नुपर्‍यो,’ उनले भने । पार्टीले जिम्मेवारी दिएमा फेरी अध्यक्ष बन्न तयार रहेकाे उनको भनाइ छ । ‘रोएर पद लिने हाेइन्’, उनले सुनाए । कोरोनका कारण अपेक्षित काम गर्न नपाएकाले पार्टी र जनताले एक पटक अवसर दिए विकास गरेर देखाउने उनको भनाइ छ ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा पनि दोहोरिनलाई पार्टीमा दावी गरिरहेका छन् । उता

आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा पनि फेरि एक पटक दोहोरिने मनस्थितिमा छन् ।  ‘फेरि पनि अध्यक्ष बनेर जनताको सेवा गरु भन्ने हो’, उनले संक्षिप्त प्रतिकृया दिए ।

बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा पनि दोहोरिन चाहन्छन् । उनले आफू दोहोरिनलाई माहोल पनि बनाइरहेका छन् । तर, दोहोरिने नदोहोरिने पार्टीको निर्णयमा भर पर्ने उनको प्रतिक्रिया छ । ‘नेतृत्वमा दोहोरिने मेरो व्यक्तिगत चाहनामा भर पर्दैन् । हामी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले दलको दिशानिर्देश पालना गर्नुपर्ने हुन्छ । आगामी दिनमा कसरी अगाडि बढ्ने पार्टीको निर्णयमा नै भर पर्छ,’ उनले भने ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एक एक स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको हो ।

व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो । शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भए थिए । ८५ मध्ये ५० वडाको वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्लाभारि भएको थियो ।

एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो ।  ३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख सहित जिल्लाका पाँच वडामा वडाध्यक्ष जितेको थियो ।   यसपालि जिल्लामा चार दलिय गठबन्ध मिलेर स्थानीय तहको निर्वाचन लड्ने निर्णय गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर स्थानीय तहको निर्वाचन लड्नलाई कार्यदल नै बनाउने सहमति गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);