स्थानीय निर्वाचन केन्द्रित हुँदै तनहुँका प्रमुख दल | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

स्थानीय निर्वाचन केन्द्रित हुँदै तनहुँका प्रमुख दल

तनहुँ । आगामी ३० वैशाखमा देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै दलहरू आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको निर्वाचन आफ्नो पकडमा पार्ने उद्देश्यले तनहुँमा क्रियाशील राजनीतिक दलले तयारी गरिरहेका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित भएर गतिविधि  भइरहेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै प्रमुख प्रतिपक्ष दल एमालेलगायतका पार्टीले संगठन विस्तारदेखि पार्टी प्रवेशका कार्यक्रम धमाधम गरिरहेका छन् । घोषित अघोषित रूपमा दलहरू स्थानीय तहको निर्वाचन केन्द्रित भएको पाइन्छ ।

कांग्रेसले तनहुँमा घोषित रूपमै स्थानीय तहको निर्वाचन लक्षित गतिविधि थालेको छ । तनहुँ कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आइतबारदेखी ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरिसकेको छ । जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ तथा नगर कमिटीले ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका लागि वडावडामा जाने प्रतिनिधि छनोट गरिएको जिल्ला सभापति जितप्रकाश आलेले बताए ।

‘गाउँगाउँमा पुगेर मतदाताको सर्वोक्षण गर्ने र पार्टीप्रतिको भ्रमलाई चिर्दैै कांग्रेस जिताउ अभियान चलाउनेछौँ’, उनले भने । यतिबेला निर्वाचनको माहोल कसरी बनाउन सकिन्छ भनेर लागिरहेको उनले बताए । ‘एमसीसीलगायत केही  विषयमा दुविधा उत्पन्न भइरहेका छन् त्यसको भ्रम पनि चिरिरहेका छौँ’, उनले बताए ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायतका नेताहरू गृहजिल्ला आउने क्रम पनि बाक्लिएको छ । केन्द्रीय नेताहरू जिल्लामा आएर गाउँगाउँमा पुगेर कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । 
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पनि स्थानीय तहको निर्वाचन केन्द्रित भएका छन् । नेता जोशीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरेकोे छ । तर पनि उनी आफू पक्षधरका नेतालाई सेटल गर्ने भन्दै गाउँगाउँ पुगिरहेका हुन्छन् । 

जोशीले अबको निर्वाचनमा आफू पक्षधरलाई तनहुँ कांग्रेसले नसमेटे जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने चेतावनी दिँदै आफू पक्षधरका नेता कार्यकर्तालाई भेट्न चरण चरणमा अभियान चलाइरहेका छन् । उनले भनेका छन्, ‘पहिलो प्राथकिमता कांग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ’, उनको चेतावनी छ । यदि जोशी पक्षधरलाई समेट्न नसकेमा स्थानीय निर्वाचन तनहुँ कांग्रेसलाई भारी पर्ने देखिन्छ ।

एमाले पनि टोलटोलमा कमिटी विस्तार गर्ने अभियानमा केन्द्रित देखिन्छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने दाउमा छ एमाले । ‘टोलटोलमा कमिटी गठन गर्ने अभियान व्यापक रूपमा भइरहेको छ । पार्टी प्रवेशका कार्यक्रम पनि भइरहेका छन् । यसैमार्फत जनतालाई गोलबन्द गर्दै गइरहेका छौँ’, एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने । निर्वाचनको संघारमा एमालेविरुद्ध अन्य पार्टीले भ्रम फैलाउन सक्ने भएकाले टोलटोलमा कमिटी विस्तार गरेको उनले बताए । यसपालि पार्टीमा गुटबन्दीको अन्त्य भएकाले अघिल्लो निर्वाचनमा भन्दा राम्रो परिणाम आउने उनको दाबी छ । 

माओवादी केन्द्रकी केन्द्रीय सदस्य आशा कोइराला तनहुँमा माओवादी निर्वाचन केन्द्रित भइनसकेको बताइन् । ‘संठगन विस्तार र सुदृढीकरणको अभियान चलिरहेको छ । यो अधिवेशनअन्तर्गत नै हो । अब छिट्टै केन्द्रबाट निर्देशन आउनेछ र हामी स्थानीय तहको निर्वाचन केन्द्रित हुनेछौँ’, उनले भनिन् । 

निर्वाचन केन्द्रित भएर गाउँ पस्न थाले पनि अघिल्लो निर्वाचनमा आफ्ना पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीले के कति काम गर्न सफल भए र जनता सन्तुष्ट छन छैन्न भन्नेमा समीक्षा गर्नतर्फ राजनीतिक दलहरूको ध्यान पुगेको छैन् । जनता तानातानको होडबाजीमा लागेका राजनीतिक दलले गम्भीर समीक्षा गर्न पनि जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);