काठमाडौं । उत्तर कोरियाले नेता किम जोन–उनको उपस्थितिमा आफ्नो देशले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ ।
उत्तर कोरियाले आइतबार ब्यालेस्टिक मिसाइलको परीक्षणको गरेको दक्षिण कोरियाले दाबी गरेको थियो । तर त्यसको उत्तर कोरियाले तत्कालै केही प्रतिक्रया दिएको थिएन ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले नेता किमको उपस्थितिमा जमिनबाट जमिनमा मार हान्न सकिने ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।
परीक्षण गरिएको मिसाइलले मध्यम तथा लामो दूरीमा मार हान्न सक्ने केसिएनएले उल्लेख गरेको छ ।
परमाणु हतियारसहित आक्रमण गर्न सक्ने मिसाइल परीक्षण भएको केसिएनएले जनाएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरको यो मिसाइल परीक्षण अमेरिकी राष्ट्रपतिलाई सैन्य उक्साहटमा ल्याउने प्रयास रहेको बताएको छ ।
मिसाइल जापान सागर तर्फ पाँच सय किलोमिटरसम्म पुगेको दक्षिण कोरिया तथा अमेरिकाका अधिकारीले बताएका छन् ।
उत्तर कोरियाको मिसाइल परीक्षणको भने विश्वभरबाट निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, जापान, दक्षिण कोरियासहितका देशले उत्तर कोरियाको आलोचना गरेका छन् ।