पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

पोखरा । पोखरा महानगरपालिकाले देशभरका स्थानीय न्यायिक समितिको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । पहिलो जनप्रतिनिधिको कार्यकाल उत्तरार्द्धमा पुगिसकेको बेला पोखराले सिकाइ अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरेको हो । हालसम्म न्यायिक समितिले गरेका असल अभ्यास र चुनौतीका विषयमा छलफल गरी अप्ठ्याराहरुको समाधान निकाल्न सम्मेलन आयोजना गरिएको पोखरा महानगरकी उपमेयर मन्जुदेवी गुरुङले बताइन् ।

१४ चैतदेखि सम्मेलन पोखरा सभागृहमा हुनेछ । सोही सम्मेलनबाट आगामी रणनीति सहितको पोखरा घोषणापत्र जारी हुने गुरुङले बताइन् । सम्मेलनमा देशभरका सात सय ५३ स्थानीय तहका न्यायिक समितिका संयोजकहरु सहभागी हुने पोखराको दावी छ । संविधानले स्थानीय सरकारलाई न्याय सम्पादनको समेत अधिकार दिएपछि पहिलो पटक तल्लो तहबाट न्यायिक कामको थालनी गरिएको हो ।

‘सम्मेलन हामीहरुले पहिले नै गर्न खोजेका थियौं । तर कोरोना महामारीले गर्न सकिएन । कार्यकाल सकिनै लागे पनि आगामी दिनमा न्यायिक समितिको कार्यसम्पादनमा सहजता ल्याउन र कानुनको प्रत्याभूति दिलाउन यसले सघाउँछ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रम आगामी दिनहरुमा नियमित भइराख्नुपर्छ ।’ सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बताइएको छ ।

सम्मेलनमा न्यायिक समितिको न्याय निरुपण प्रक्रिया झल्किने वृत्तचित्र समेत प्रदर्शन गरिनेछ भने विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको पोखरा न्यायिक समितिले जनाएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले सम्मेलनले सम्मेलनले न्यायिक समितिमा परेका उजुरी तत्काल पछ्यौट गर्दै कार्यसम्पादनमा सहजताका लागि बाटो खोल्ने बताए ।

‘सम्मेलन औपचारिकतामा मात्रै सकिँदैन । यसले एकखालको निकास निकाल्छ,’ उनले भने, ‘न्याय क्षेत्र सफल नहुँदासम्म स्थानीय सरकार सफल हुँदैनन् । छिटो मुद्धाको छिनोफानो गर्न सबै न्यायिक समितिहरु तदारुकताका साथ लाग्नुपर्छ ।’

पोखराका ३३ वटा वडामध्ये २९ वटाका सहित महानगरसमेत ३० वटा मेलमिलाप केन्द्र समेत स्थापना भएका छन् । यस्तै एक सय ४४ जना मेलमिलापकर्ता सूचिकृत भएका छन् । समितिमा परेका उजुरीको न्यायिक समितिले ऐनभित्र रहेर फैसला र मेलमिलापकर्तामार्फत विवाद निरुपण हुने गरेको छ ।

पोखरामा हालसम्म दुई सय २६ उजुरी दर्ता भएकोमा ३१ वटा मेलमिलाप भएको छ । अधिकांश उजुरी मानाचामल सम्बन्धी छन् । ३५ उजुरी तामेलीमा गएको छ भने ६७ वटाको फैसला भइसकेको छ । हालसम्म १२ वटा पुनरावेदनमा गएको गुरुङले बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);