मापदण्ड पालनामा क्रसर व्यवसायी र स्थानीय सरकारबीच टकराव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

मापदण्ड पालनामा क्रसर व्यवसायी र स्थानीय सरकारबीच टकराव

महोत्तरी । महोत्तरीका क्रसर व्यवसायीहरुले स्थानीय सरकारका कारण आफूहरू समस्यामा परेको बताएका छन् । स्थानीय सरकारले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ लागु गरेपछी आफूहरूलाई समस्या परेको बताएका हुन् ।

विशेषगरी ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा उल्लेख गरिएको दूरीसम्बन्धी मापदण्डप्रति  क्रसर व्यवसायीहरूले आपत्ति जनाएका छन् ।नगरपालिकाले नै यसकाे व्यवस्थापन नगरेसम्म आफूहरू २०७७ को दूरीसमबन्धी मापदण्ड पालना गर्न नसकिने व्यवसायी कृष्ण बस्नेत बताउँछन् ।

यता नगरपालिकाले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी ऐन २०७७ मा उल्लेख भएका मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन पत्राचार  गरेको छ । मापदण्डलाई अटेर गरे क्रसर उद्याेग नै बन्द गर्ने नगरप्रमुख बिदुर कार्कीकाे चेतावनी छ ।

२०७७ को मापदण्डअनुसार राजमार्गको राइट वे बाट ५०० मिटर दूरीमा खोला वा नदी किनारबाट ५०० मिटर दूरीमा, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई किलोमिटर दूरीमा, पक्की पुलबाट ५०० मिटर दूरीमा, वन, निकुञ्ज तथा आरक्षबाट दुई किलोमीटर दूरीमा, अन्तर्राष्ट्रिय सीमाबाट दुई किलोमिटर दूरीमा, घनावस्तीबाट दुई किलोमिटर दूरीमा, हाइटेन्सन लाइनबाट २०० मिटर दूरीमा, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५०० मिटर दूरीमा र चुरे पहाडको फेदीबाट एक हजार ५०० मिटर दूरीमा अनिवार्य हुनुपर्ने उल्लेख छ ।

तर, नगरपालिकामा सञ्चालनरत् कुनै पनि क्रसर उद्याेग मापदण्डअनुसार सञ्चालन भएको पाइएको छैन । प्राय:जसो क्रसर उद्याेग बर्दिबासमा मापदण्डविपरीत नै रहेको स्थानीयहरू बताउँछन् ।

स्वयं  क्रसर उद्याेग व्यवसायीसमेत मापदण्डअनुसार कुनै पनि क्रसर नरहेको स्वीकार गर्छन्   । `उद्याेग दर्ताको क्रममा सजिलै अनुमति दिने अनि अहिले अनेक प्रकारका नियम बनाएको नै के अर्थ रहन्छ र ?,’ व्यवसायी बस्नेतको भनाइ छ ।

१५ दिन अगाडि नगरपालिकाले सबै क्रसरलाई अहिलेको अवस्थाबारे जानकारी गराउन र मापदण्डअनुसार नभए तुरुन्त स्तान्तरण गर्न पत्र लेखेको थियो । तर, व्यवसायीहरूले त्यसकाे बेवास्ता गर्दै नगरपालिकाको निर्देशन पालना गर्न नसकिने निष्कर्ष निकालेका थिए ।

नगरमा अहिले एउटै व्यक्तिका तीनावटासम्म क्रसर छन् । नगरपालिकाको तथ्यांकअनुसार अहिले नगरभित्र १७ वटाभन्दा बढी क्रसरहरू छन्, जसमध्ये पाँच वटा क्रसरलाई नेपाली सेनाले बन्द गराएको बताइएको छ ।

नेपाली सेनाको गण नजिकै रहेका ती क्रसरहरूको ध्वनी प्रदूषण र न्यूनतम मापदण्डअनुसार समेत नभएको हुनाले बन्द गर्नुपरेको नेपाली सेनाको श्री न.९ बाहिनीले जानकारी दियो ।बर्दिबासभित्र रहेका क्रसरहरूको अहिलेसम्म स्टोक प्रमाणीकरणसमेत भएको छैन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);