पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा तीन चरणको रणनीति सार्वजनिक

काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेट्ने गरी तीन चरणको सुधार रणनीति सार्वजनिक गरेको छ ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागीहरूको सहभागितासहित नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । धितोपत्र बोर्डले पुँजी बजारमा सुधार ल्याउन प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै कमिटी गठन गरेको छ । यी समितिहरूमा नेप्से, सिडिएस एण्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरू संलग्न छन् । सुधार प्रक्रियालाई पारदर्शी बनाउन बोर्डले पहिले कन्सेप्ट पेपर तयार पार्ने, त्यसपछि समितिमार्फत छलफल गरी सार्वजनिक परामर्श लिने र अन्त्यमा नीति कार्यान्वयन गर्ने विधि अपनाएको छ । प्राथमिक बजार सुधारका सन्दर्भमा अध्यक्ष भट्टले आइपिओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता र बाँडफाँड प्रणालीसँग सम्बन्धित नीतिहरू तयार भइसकेको र क्रमशः लागू गरिने जानकारी दिनु भयो । बोर्डले बजारको रेडीनेसलाई मध्यनजर गर्दै सहभागीहरूलाई इन्गेज गराएर अघि बढ्ने रणनीति लिएको छ । दोस्रो बजार सुधारका लागि ब्रोकर संस्थाहरूको पुनर्संरचनालाई बोर्डले प्राथमिकतामा राखेको छ । ब्रोकरहरूलाई पारिवारिक व्यवसायको साँघुरो घेराबाट माथि उठाउँदै ’इन्डस्ट्रियल’ मोडलमा विकास गर्ने नीति बोर्डले पारित गरिसकेको छ । अब ब्रोकरहरूलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको वृहत संरचनामा लैजाने योजना रहेको छ ।

यसैगरी, बजारको मुख्य संयन्त्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सुधारलाई बोर्डले प्रमुख प्राथमिकतामा राखेको छ । नेप्सेको प्राविधिक पक्ष, अर्डर म्यानेजमेन्ट र साइबर सेक्युरिटीमा देखिएका कमजोरी सुधार्न बोर्डले नियामकीय निर्देशनलाई कडा बनाउने भएको छ । सरकारी स्वामित्वका संस्थाबीच हुने समन्वयको अभाव र क्षेत्राधिकारका समस्यालाई चिर्दै नेप्सेका लागि ३१ देखि ३२ वटा नयाँ नियमनहरू तयार पारिएको र ती छिट्टै जारी गरिने अध्यक्ष भट्टले बताउनु भयो ।

Leave a Reply