नेपालगन्ज, १५ बैशाख । जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५/५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।
ट्रिपरले बोकेर डम्पिङ गरेको ढुंगा, गिटी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ। हुलाकी सडकका लागि ठेकेदारलाई निर्माण सामग्री कति आवश्यक छ? अहिलेसम्म कति परिमाणको सामग्री उत्खनन भएको छ? यसबारे कुनै लेखाजोखा छैन। तर नदीबाट उत्खनन भइरहेको निर्माण सामग्री हुलाकी सडकका नाममा अन्यत्रै आपूर्ति भइरहेको स्थानीय बासिन्दा बताउँछन्।
बर्सेनि बाढीको चपेटामा पर्दै आएका स्थानीय बासिन्दा दिनरात नदीमा जथाभाबी दोहन हुँदा चिन्तामा परेका छन्। दिनरात मेसिन लगाएर नदी दोहन भइरहेको राप्तीसोनारी–२, टिकुलीपुर निवासी मैमकला रानाले बताइन्। गत साउन अन्तिम साता आएको बाढीले महिनौंसम्म विस्थापित भएकी उनी अहिले नदी दोहान भइरहँदा फेरि बाढीले सताउने हो कि भन्ने चिन्तामा छिन्।
शमशेरगन्जस्थित नदी किनारमा क्रसर स्थापना गरी राप्तीमा महिनौंदेखि एक्साभेटर चलाउन थालेपछि स्थानीय बासिन्दा विरोधमा उत्रिए। गाउँका अगुवा एवम् सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष डिल्ली गिरीको संयोजकत्वमा संघर्ष समिति बन्यो। समितिको अगुवाइमा स्थानीय बासिन्दा प्रहरी प्रशासन, समन्वय समितिलगायत सरोकारवाला निकायमा पुगेर राप्ती नदीको जथाभावी दोहन रोक्न माग गरे। तर, कतैबाट पनि स्थानीय बासिन्दाको माग सुनुवाई भएन्।
‘नदीमा दिनरात एक्साभेटर चल्छ, एक्साभेटरले जथाभावी निकालेको ढुंगा, गिटी र बालुवा दिनरात ट्रिपरहरूले ओसारिरहेका छन्, क्रसर र एक्साभेटरले रातभर चल्छन्, राम्ररी सुत्न समेत पाईंदैन,’ गिरीले भने ‘हुलाकी सडकका नाममा ठेकेदारले अन्यत्र माल सप्लाई गरिरहेको छ, यसलाई रोक्नुप¥यो भन्दा पनि कसैले सुने जस्तो गर्दैनन्।’
विकास निर्माणलाई आवश्यक पर्ने निर्माण सामग्री कानुनी प्रक्रिया पु-याएर निकाल्दा आपत्ति नरहेको तर, ठुला आयोजनाको बहानामा जथाभावी दोहन गरी सामग्री अन्यत्रै बेच्ने गरेको पाइएको हुँदा विरोध गर्नु परेको उनले बताए। राप्तीबाट दोहन गरेर ल्याइएको ढुंगा, गिट्टीको थुप्रोले क्रसर उद्योगमा ठूलै पहाड बनेको गिरीको भनाइ छ। क्रसर सञ्चालकले गुण्डाहरू राखेर स्थानीय बासिन्दालाई उल्टै डरधम्की दिने गरेको स्थानीय बासिन्दाको गुनासो छ। नदीमा भईरहेको दोहनमा जिल्ला समन्वय समितिका केही कर्मचारीको समेत मिलेमतो रहेको स्थानीयको आरोप छ।
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।




