प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने विषय पार्टीमा लैजान्छु : सुवास नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने विषय पार्टीमा लैजान्छु : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने प्रस्तावलाई पार्टीको बैठकमा राख्ने आश्वासन दिएका छन् ।

जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने मागसहित सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र बुझ्दै नेम्वाङले बारको प्रस्तावलाई पार्टी अध्यक्ष र स्थायी कमिटी बैठकमा लैजाने आश्वासन दिएका हुन् । 

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोेजेको लगायतका आरोप लगाएर बार निरन्तर तीन साताभन्दा लामो समयदेखि आन्दोलित छ । तर, जबराले राजीनामा दिन छाँटकाँट नदेखिएपछि सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई ज्ञापनपत्र बुझाएको हो । सोही क्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएर बारले जबरालाई महाअभियोग लगाउन माग गरेको हो । 

‘बारले उठाएका विषय गम्भीर छन् । जे भयो राम्रो भएन । यो ज्ञापनलाई अध्यक्ष र स्थायी कमिटीमा अविलम्ब आजै बुझाउँछु । पार्टीको ध्यानाकर्षण गराउने पहल मेरो रहन्छ’, नेम्वाङले भने ।  

बारको आन्दोलनबारे औपचारिक जानकारी पाएको भन्दै उनले  कानुन व्यवसायीको आन्दोलन मथ्थर बनाउन दंगा प्रहरी प्रयोग गरेमा दुःख व्यक्त गरे  । न्यायालयको विवाद भित्रै समाधान गर्नुपर्ने भए पनि बाहिर आइसकेकाले अब समाधानको बाटोमा लाग्नुपर्ने उनको नेम्वाङको भनाइ छ । 

‘बारले यस्तो गर्नुपर्ने स्थिति नआएको भए हुन्थ्यो । अदालत र बार छलफल गरेको भए राम्रो हुन्थ्यो । तर, बाहिर आइसक्नुभयो । यो राम्रो होइन । अहिले सर्वाेच्चबाट न्याय पाउन नसकिने अवस्था छ । हामीले नै बोलिराखेको कुरा आएको छ । संसदमा भएका घटनामा पनि हामीले न्याय पाउन सकेनौं’, उनले भने । 

नेम्वाङलाई ज्ञापनपत्र बुझाउने क्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले संविधानको व्यवस्थाअनुसार आफू बाहिरिने भनेकाले महाअभियोग लगाउनुपर्ने भएको बताए । ‘उहाँले सडकबाट छोड्दैन संविधानबाट आएको संविधानबाटै जान्छु भनेकाले हामी आएका छौं । न्यायको सेवाग्राहीको आवाज लिएर आएका छौं’, श्रेष्ठले भने ‘राजनीतिक दलहरूबाट निकास चाडोभन्दा चाडो होस् ।’ एमालेको सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);