यी हुन् श्रीमतीसहित चुनावी मैदानमा उत्रिएका शीर्ष दलका सात शीर्ष नेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाण्डौँ, २० कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकालागि सकसपूर्ण तरिकाले दलहरुले उम्मेदवारको टुंगो लगाए । कतिपयको उम्मेदवारीका कारण दलहरु विवादमा समेत तानिए । यतिसम्म कि आफ्नै दलका नेताहरुले आफन्तहरु मुख्य प्राथमिकता राखेको आरोप समेत लगाए ।

कतिपय जिल्लामा आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बागी समेत पर्यो । टिकटकै बिषयलाई लिएर कतिपय नेताहरु दल बदल्न समेत पछि परेनन् । पछिल्लो समय दलका नेताहले आफन्त र नजिकका नातेदारलाई टिकट दिएको चर्चा चुलिएको छ ।

यस्तै आरोप र चर्चाबीच प्रतिनिधिसभा र प्रदेशसभाका लागि शीर्ष दलका शीर्ष नेता नै श्रीमतीसहित चुनावी मैदानमा उत्रिएका छन् । केहीले प्रत्यक्ष चुनावकै लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् भने केही समानुपातिकमा छन् । श्रीमतीसहित चुनावी मैदानमा उत्रिने नेताहरुको हामीले चर्चा गरेका छौँ ।

शेरबहादुर देउवा र आरजु राणा
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती आरजु राणा देउवाले कैलाली ५ बाट प्रतिनिधिसभाकै लागि उम्मेदवारी दर्ता गराएकी छिन् । राणाले निकै विवादकाबीच टिकट पाएको चर्चा कांग्रेसभित्र छ ।

वामदेब गौतम र तुलसी थापा
नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले बर्दिया १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती तुलसी थापा भने एमालेको समानुपातिक सूचीमा परेकी छिन् । थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा परेकी हुन ।

बर्षमान पुन र ओनसरी घर्ती
नेकपा माओवादी केन्द्का नेता बर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । उनकी श्रीमती ओनसरी घर्ती समानुपातिक सूचीमा छिन् । घर्ती पूर्वसभामुख समेत हुन् ।

शक्ति बस्नेत र सत्या पहाडी
पूर्व गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उनकी श्रीमती सत्या पहाडी प्रतिनिधिसभाकै लागि माओवादीको समानुपातिक सूचीमा छिन् । नेताहरुले आ–आफ्ना नातेदारहरुलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भइरहँदा बस्नेत दम्पती नै उम्मेदवार बनेका छन् ।

हितमान शाक्य र अमृता थापा
नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं १० बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती अमृता थापा मगर माओवादी केन्द्रको समानुपातिक सूचीमा परेकी छिन् ।

शंकर पोखरेल र सुजिता शाक्य
नेकपा एमालका नेता शंकर पोखरेलले प्रदेशसभाका लागि दाङबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको टिकट दाबी गरेका पोखरेल मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशसभामा चुनाव लड्न राजी भएका हुन् । उनकी श्रीमती सुजीता शाक्य एमालेको प्रतिनिधिसभाको समानुपातिक सूचीका परेकी छिन् ।

सीपी मैनाली र निलम खड्का
नेकपा मालेका महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन् । मैनालीले समानुपातिकको सूचीमा आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् । दोस्रो संविधानसभामा पनि मैनाली दम्पती समानुपातिक भोटबाट सांसद बनेका थिए भने पालैपाले मन्त्रीसमेत बनेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);