शीर्ष नेता को कहाँबाट उम्मेदवार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् । ०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् ।

मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने अड्कलबीच दोस्रो चरणको निर्वाचनमा झापा ५ र डडेल्धुरा सबैको चासोको विषय बनेको छ । दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि त्यसका अध्यक्ष पुष्पकमल दाहालको चुनाव क्षेत्र चितवन ३ पनि चर्चा र चासोमा छ । अध्यक्ष दाहालका लागि चितवन नयाँ चुनावी क्षेत्र हो ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । पहिलो संविधानसभामा पराजित भए पनि दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेका उनले फेरि काठमाडौं २ नै रोजेका हुन् । विगतमा रौतहटबाट चुनाव लड्ने गरे पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षमा परिणाम आएपछि नेपाल काठमाडौं २ रोज्न बाध्य भएका थिए ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् । दोस्रो चरण निर्वाचनमा देउवाको क्षेत्र डडेल्धुरा, ओलीको क्षेत्र झापा ५ र दाहालको क्षेत्र चितवन ३ मा सर्वाधिक चासो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट मैदानमा उत्रेका छन् । युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका थापासँग एमालेका युवा नेता डा. राजन भट्टराई र शर्मासँग माओवादी केन्द्रका राम कार्की प्रतिस्पर्धामा छन् । सिटौलाको क्षेत्र सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने भनिए पनि आफैँले उठ्न अडान लिएपछि सिटौला र लिङदेनबीच त्यस क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । लिङदेनलाई वाम गठबन्धनको पनि समर्थन छ ।

प्रधानमन्त्रीपत्नी डा.आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । कांग्रेसकै विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, पद्मनारायण चौधरी, सुजाता कोइराला, चित्रलेखा यादवलगायत नेता भने समानुपातिकमा समेटिएका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ २ बाट चुनावमा उठेका छन् । एमालेका शंकर पोखरेल प्रदेशसभामा उठ्ने भएपछि महरा वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता पहिलो चरणको निर्वाचनमै उम्मेदवार बनिसकेका छन् । चितवन २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले दाबी गरे पनि उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बनेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

थापालाई काठमाडौं १० मा उम्मेदवार बनाउने चर्चा चलाइए पनि थापाले नमानेको बताइन्छ । काठमाडौं १० मा माओवादी केन्द्रले हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट चुनावी मैदानमा छन् ।

शीर्ष नेता को कहाँ ?

एमाले
केपी ओली झापा ५
माधव नेपाल काठमाडौं २
झलनाथ खनाल इलाम १
वामदेव गौतम बर्दिया १
भीम रावल अछाम १
सुवास नेम्वाङ इलाम २
ईश्वर पोखरेल काठमाडौं ५
विष्णु पौडेल रुपन्देही
सुरेन्द्र पाण्डे चितवन १

कांग्रेस

शेरबहादुर देउवा डडेल्धुरा
रामचन्द्र पौडेल तनहुँ १
विमलेन्द्र निधि धनुषा ३
प्रकाशमान सिंह काठमाडौं १
कृष्णप्रसाद सिटौला झापा ३
शशांक कोइराला नवलपरासी १
गगन थापा काठमाडौं ४
रमेश लेखक कञ्चनपुर ३
एनपी साउद कञ्चनपुर २
माओवादी केन्द्र
पुष्पकमल दाहाल चितवन ३
कृष्णबहादुर महरा दाङ २
गिरिराजमणि पोखरेल महोत्तरी १
राम कार्की झापा १

काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार
१ अनिल शर्मा (माओवादी केन्द्र)
२ माधव नेपाल (एमाले)
३ कृष्ण राई (एमाले)
४ डा. राजन भट्टराई (एमाले)
५ ईश्वर पोखरेल (एमाले)
६ झक्कु सुवेदी (माओवादी)
७ रामवीर मानन्धर (एमाले)
८ उमेश स्थापित (माओवादी)
९ कृष्णगोपाल श्रेष्ठ (एमाले)
१० हितमान शाक्य (माओवादी)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);