पुन: प्रधानमन्त्री हुने हुटहुटीसहित निर्वाचनमा होमिए यी ६ शीर्ष नेता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, १८ मंसिर । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर मुलुकको नेतृत्व गरेका छ शीर्ष नेता प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको दौडमा देखिएका छन् ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव बोकिसकेका शीर्ष नेताहरु फेरि त्यो पदमा पुग्ने हुटहुटीसहित निर्वाचनको दौडमा होमिएका हुन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौंपटक प्रधानमन्त्रीमा दोहोरिने लोभसहित गृह जिल्ला डडेल्धुराबाट उम्मेदवार बन्नुभएको हो ।

नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रुपमा कसैको नाम अगाडि नसारे पनि मतदातासँग भोट माग्ने क्रममा देउवाले ज्यातिषीले आफूलाई सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताउनुभएको छ । २०४८ सालयता भएका निर्वाचनमा डडेल्धुराबाट सधैं जित्दै आउका देउवासँग बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्ट प्रतिस्पर्धामा हुनुहुन्छ ।

चुनावी दौडमा रहेकामध्ये चारजनासँग एक एक पटक तथा एक जनासँग दुई पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । १० वर्षको अवधिमा दुई पटक प्रधानमन्त्रीको कुर्सीमा बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवनबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

पहिलो संविधानसभामा रोल्पा र काठमाडौं–१० तथा दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित दाहालले यसपटक चितवन–३ लाई रोज्नुभएको हो । दाहालसँग राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ । पाण्डे संविधानसभाको दोस्रो निर्वाचनमा चितवन–३ बाटै निर्वाचित हुनुभएको थियो । पाण्डेलाई पराजित गर्न दाहालले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने बाँदरमुढेका १२ वर्ष पहिलेका एम्बुस पीडितसँग तीन बुँदे सम्झौता गर्नुभएको छ ।

नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा नगरेपनि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सांसद्को प्रतिस्पर्धामा उत्रिनुभएको छ । एक एक पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेका ओली झापा–५, खनाल इलाम–२ र नेपाल काठमाडौं–२ बाट प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

संविधानसभाको चार वर्ष पहिलेको निर्वाचनमा झापा–४ बाट निर्वाचित भएका ओलीले मुख्य प्रतिस्पर्धीका रुपमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई पाउनुभएको छ भने २०५६ सालको संसदीय निर्वाचन वाहेक २०४८ सालयताका सबै निर्वाचनमा जित हात पारेका खनाल काँग्रेसका भुपेन्द्र कट्टेलसँग प्रतिस्पर्धामा हुनुहुन्छ । गणतन्त्र स्थापनापछि एमालेका तर्फबाट पहिलो प्रधानमन्त्री बनेका नेपाल गृह जिल्ला रौतहट छोडेर काठमाडौं–२ बाट प्रतिस्पर्धामा होमिनुभएको छ । नेपालका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक कुईंकेल हुनुहुन्छ ।

नेपाल र कुईंकेल दुवैजना अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाटै निर्वाचित हुनुभएको थियो । २०७० सालको निर्वाचनमा नेपालले कुईंकेललाई पराजित गरेकामा त्यसपछि भएको उपनिर्वाचनमा कुईंकेल एमाले उम्मेदवारलाई पराजित गरेर सभासद चुनिनुभएको थियो । यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट प्रतिस्पर्धा गर्नुभएको छ । चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले भने आफूलाई चुनावी प्रतिस्पर्धाबाट अलग राख्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);