नेपाल-बंगलादेश व्यापार : फूलबारी नाकामा पार्किङकै समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल-बंगलादेश व्यापार : फूलबारी नाकामा पार्किङकै समस्या

झापा नेपाल-बंगलादेश व्यापार पूर्वी नाका काँकडभिट्टाबाट मात्र हुँदै आएको छ । बंगलादेशसँग नेपालले भारतको पानीट्यांकी हुँदै नाका फूलबारी नाकासम्मको बाटो प्रयोग गरेर व्यापार गर्दै आएको छ । 

नेपाल-बंगलादेशको व्यापार सहजीकरणका लागि काँकडभिट्टामा मेची भन्सार कार्यालयसँगै सरकारी संस्थान नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको कार्यालय राखिएको छ । यसले दुई देशबीचको व्यापारको सहजीकरण र समस्याको समाधान गर्दै आएको छ ।

विभिन्न समस्याका बीच नेपाल-बंगलादेश व्यापार चलिरहेको छ । असमान व्यापारका कारण नेपालको बंगलादेशसँगको व्यापार घाटा निरन्तर बढिरहेको छ । बंगलादेशले भन्सार शुल्क झन्डै ७० प्रतिशत बनाउँदा नेपाली उत्पादन बंगलादेश जान सकेको छैन । बंगलादेशबाट आलु, साेयाविन सिड, साेयाविन मिल, सिसा, रेडिमेट गार्मेन्ट, आलु, रेफ्रिजिरेटर, जुट, मेडिसिन, बिस्कुट-चकलेटलगायत आउने गरेको छ । 

नेपालबाट मुसुरोको दाल, कुचो, जडीबुटी, अधुवालगायत बंगलादेश जान्छ । तर, नेपालमा धेरै उत्पादन हुने अलैँची, चियालगायत उत्पादनमा भन्सार शुल्क धेरै हुँदा व्यापार घाटा बढ्दो छ । ‘नेपाली उत्पादनका लागि बंगलादेशमा भन्सार शुल्क धेरै हुँदा व्यापार घाटा बढेको अनुमान गर्न सकिन्छ,’ पारवहन तथा गाेदाम व्यवस्थापन कम्पनीका काँकडभिट्टा कार्यालय व्यवस्थापक लीलाधर सुवेदी भन्छन्, ‘यो हाम्रो लेभलबाट समाधान हुने समस्या हैन । सामानहरूमा भन्सार सुविधा दिनुपर्‍यो भनेर नेपाल सरकारले बंगलादेशलाई भन्नुपर्‍यो । ड्युटी छुट गराउन लाग्नुपर्‍यो । यहाँ आउने मन्त्रालयका मान्छेहरूलाई हामीले भनिरहेका हुन्छौँ । उहाँका व्यापारीले पनि जानकारी गराइरहनुभएको हुन्छ ।’

नेपाल-बंगलादेशबीच व्यापारमा अनेक समस्या छन् । नेपालबाट बंगलादेशमा सामान लिएर गएका र बंगलादेशको सामान लिन गएका गाडी भारत-बंगलादेश नाका फूलबारी नाकासम्म पुग्छन् । बंगलादेशबाट बंगलाबन्द नाका भएर आएका गाडीले फूलबारीसम्म सामान ल्याउँछन् । 

नेपालबाट गएका गाडीले त्यहीँबाट लोड गरेर सामान ल्यनाउँछन् भने नेपालबाट गएका सामान फूलबारी नाकामा बंगलादेशी गाडीलाई दिएर आउँछन् । फूलबारी नाकामा सबैभन्दा ठूलो समस्या गाडी पार्किङको रहेको पारवहन काँकडभिट्टाका प्रमुख सुवेदीले जानकारी दिए ।

‘फूलबारी नाकामा पार्किङको समस्या ज्यूँकात्यूँ छ । समाधान भएको छैन । हामीले यहाँ स्थानीयस्तरमा गर्ने काम गरिरहेका छौँ । पारवहनका अध्यक्ष विनोद जोशीलाई पनि फूलबारी नाका भ्रमण गराएर फूलबारी नाकाको चिफलाई पनि भेट गराएँ,’ उनी भन्छन्, ‘पार्किङ समस्या तत्काल समस्या हुने कुरा त भएन । तत्काल त्यो क्षेत्रलाई बढाउन सक्ने अवस्था पनि रहेन । तैपनि नयाँ पार्किङमा बढाएर गर्ने हो कि भन्ने कुरा भएको थियो । त्यो अहिलेसम्म भएको छैन प्रक्रियामै छ ।’

पर्याप्त पार्किङ नहुँदा महिनामा चार दिनसम्म पार्किङको ठूलो समस्या हुने गरेको सुवेदी बताउँछन् । ‘सधैँ त हैन । बंगलादेशबाट भारतमा सामान आयत बढ्दा निकै समस्या हुन्छ । बंगलादेशबाट भारतका लागि गार्मेन्ट बनाएर रहेको झुत्रो आउँदा समस्या हुन्छ । त्यो एकैपटक ५० गाडीसम्म आउँछ,’ उनले भने, ‘अरूबेला सामान लिन गएका गाडी एकै दिनमा फर्कन्छन् । तर, यो बेला त चार दिनसम्म लाग्छ । यो समस्या ठूलो छ ।’

फूलबारी नाकाको पार्किङ स्थलको पूर्वपट्टी विजुलीको हाइटेन्सन तार रहेको सुवेदी बताउँछन् । जसका कारण पार्किङमै समस्या भएको उनी बताउँछन् । पछिल्लो समय बंगलादेशबाट नेपालमा आयत बढिरहेका कारण पनि पार्किङमा समस्या भएको सुवेदी बताउँछन् । तर, नेपालबाट निर्यात भने बंगलादेशबाट आयातको तुलनामा नगन्य रहेको सुवेदी बताउँछन् ।

‘कहिलेकाहीँ बंगलादेशबाट सामान लिन ५० वटासम्म गाडी फूलबारी नाका पुग्छ,’ उनी भन्छन्, ‘आयतको तुलनामा निर्यात नगन्य छ । नेपालबाट महिनामा २०-२२ गाडी मात्र सामान बंगलादेश जान्छ । बंगलादेशबाट आउन समाना लिन नेपालबाट खाली गाडी जानुपर्ने बाध्यता छ ।’

फूलबारी नाकामा भुटान-बंगलादेशको व्यापारका लागि छुट्र्ट पार्किङको व्यवस्था छ । तर, नेपालले भने भारत-बंगलादेशको व्यापारका लागि फूलबारी नाकामा प्रयोग हुने पार्किङ स्थल नै प्रयोग गरिरहेको छ । छुट्टै पार्किङका लागि पहल गर्न सम्बन्धिन ठाउँमा जानकारी गराइएको सुवेदी बताउँछन् । ‘यो हामीले समाधान गर्न सक्ने समस्या हैन । मैले मान्छेहरू आउँदा यो कुरा उठाएको छु,’ उनले भने, ‘भुटानको जस्तै हामीलाई पनि छुट्टै पार्किङ आवश्यकता चाहिँ हो ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);