खुल्यो कर्णाली राजमार्ग | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

खुल्यो कर्णाली राजमार्ग

सुर्खेत । चार दिनदेखि अविरल वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको कर्णाली राजमार्ग शुक्रबार बिहानबाट खुल्ला भएको छ । कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका-८ पिलीमा पहिराे जाँदा कालीकोट-जुम्ला सडकखण्ड चार दिनदेखि अवरुद्ध थियो ।

सडकमाथिबाट ठूलो ढुंगा खसेको र त्यो ढुंगा डोजर पन्छाउन नसकेपछि ड्रिल मेसिनद्वारा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले विष्फोट गरेर ढुंगा फुटाई अवरुद्ध राजमार्ग खुलाइएको हो । 

सडकमा ठूला ढुंगा अडिएकाले डोजरले हटाउन कठिनाइ भएपछि विस्फोट गरेर फुटाएर अवरुद्ध राजमार्ग खुलाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘पहिराे पन्छाउन विस्फाेट गरेर शुक्रबार बिहानबाट राजमार्ग सुचारु भएको छ,’ उनले भने, ‘चार दिनदेखि अवरुद्ध राजमार्ग अब सञ्चालनमा आएको छ ।’

त्यस्तै, अविरल वर्षाका कारण कर्णाली राजमार्ग र करिडोर जोड्ने खाँडाचक्र नगरपालिका-जितेगडामा रहेको फेरी बगाएको छ । बगाएको फेरी अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका-४ कुल्चेडामा भेटिएको छ ।

कर्णाली नदीमा रहेको फेरी बगाउँदा कालीकोट, बाजुरा, हुम्लालगायतका क्षेत्रमा पुग्ने सवारीसाधनलाई कर्णाली नदी वारपार गर्न समस्या भएको छ । यसअघि पनि कर्णाली नदीको फेरी बगाएको थियो । बगाएको फेरी गत वैशाखमा जडान गरिएको छ । बगाएको फेरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुनर्निर्माण गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);