बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस

तनहुँ । दसैंको मुखैमा गोलभेडाको मुल्य ह्वात्तै बढ्यो । दसैंअघिसम्म ४० रुपैयाँ प्रतिकिलोमा किनबेच भईरहेको गोलभेडाको दसैंमा एक सय ४० रुपैयाँसम्म पुग्दा उपभोक्ता मारमा परेका छन् । तर बजारमा महंगोमा गोलभेडा किनबेच भइरहदाँ साना किसानलाई भने फाईदा भएको । बजारमा महंगो भएपछि उपभोक्ताहरू बारीमै (टनेल) पुगेर गोलभेडा खोसाखोस गरिरहेका छन् ।

विचौलियाविनै टनेलबाटा सय रुपैयाँ प्रतिकिलो गोलभेडा बिक्री गर्दा किसानहरू पनि मख्खै परेका छन् । शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका किसान सुरेन्द्र वाग्ले भन्छन्, ‘पहिला २५ रुपैयाँ प्रतिकिलो बिक्री हुन मुस्किल थियो । बजारमा दसैंको बेला भाउ बढ्यो । अहिले टनेलबाटै खोसाखोस भइरहेको छ ।’ 

बजारमा मुल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेले बताए । ‘बजारबाट पनि माग छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, पुर्याउन सक्ने अवस्था छैन्’, उनले भने । दसैंमा टिका थाप्न गाउँ आएका बजारियाले फर्कने बेलामा गाउँको टनेलबाट ताजा गेलभेडा कोसेली लिएर फर्कने गरेका छन् । बजारमा गोलभेडा सस्तो हुँदा गाउँमा विक्न मुस्किल हुने उनले बताए । यसपालि विचौलियाविना बिक्री हुँदा उचित मुल्य पाएको उनले जनाए । टनेलमै आएर किनबेच हुँदा किसान र उपभोक्ता दुवैलाई फाईदा पुगेको वाग्लेको भनाइ छ । 

टनेलबाट प्रतिकिलो ८० रुपैयाँदेखि सय रुपैयाँसम्म धमाधम बिक्री भइरहेको चापस्वाँराका किसान ईन्द्र आले बताउँछन् । यो मुल्यले किसानलाई राहात पु¥याएको उनको भनाइ छ । ‘यसरी मेहनत अनुसारको मुल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ’, उनले भने, ‘यो समयमा परिश्रमअनुसारको फल पाईएको छ । विगतका बर्षमा निकै सस्तोमा बेच्नु परेको थियो । टनेलबाट बिक्री नहुँदा व्यापारीलाई कम मुल्यमा दिदाँ लगानी पनि उठ्दैन्थ्यो ।’ बजारबाट तरकारी व्यापारीले ठुलो परिणाममा गोलभेडा मागे पनि टनेलबाटै खुद्रा बिक्री भएपछि नदिएको उनले बताए । यही मुल्य कायम रहे यसपालि गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उनको भनाइ छ ।

गोलभेडाको उत्पादन कम हुँदा दसैंको बेला मुल्य ह्वात्तै बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताए । उनका अनुसार यो सिजनमा तनहुँमा गोलभेडा भारतसँगै काठमाडौँ र धादिङबाट ल्याईन्छ । ‘मंहगो भएपछि यतिबेला भारतको गोलभेडा ल्याईएको छैन् । काठमाडौँको मात्रै बजारमा आएको थियो । त्यसैले मंहगो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो,  विस्तारै मुल्य घट्दै जानेछ’, उनले भने । 

अरु बेला भारतीय गोलभेडा सस्तो मुल्यमा बजारमा छ्यापछ्याप्ती हुँदा किसानले मेहनत अनुसारको मुल्य नपाएको गुनासो गर्दथे । तर अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दंग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेल थपिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);