सरकार आयो, लालपुर्जा आएन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सरकार आयो, लालपुर्जा आएन

तेह्रथुम । तेह्रथुम छथर शुक्रबारे बजारमा सुमन खुलालले ६० लाख रुपैयाँ खर्चेर घर बनाए । सानो कच्ची घरमा व्यवसाय गर्दै आएका उनले सरकारले लालपुर्जा वितरण गर्ने खबर पाएपछी नयाँ घर बनाएका हुन् ।  ३१ वर्षदेखि बसोबास गर्दै आएका खुलाल पुर्जा पाउने आशमा वर्षाैं बिताए । तर, अझै पाउन सकेका छैनन् ।

विभिन्न तहका सरकार फेरिए । तर, नागरिकको समस्या फेरिएन । ‘स्थानीय सरकार आएपछि त पुर्जा पाइला भन्ने आश थियो । तर, त्यो पनि पूरा भएन’, उनले भने । उनी जस्तै चुडामणि जोशीले ६५ लाख रुपैयाँ खर्चर घर बनाएर व्यवसाय गर्दै आएका छन् । 

उनले पनि अहिलेसम्म पुर्जा पाउन सकेका छैनन् । खुलाल र जोशी जस्ता यहाँ करिब २५० घर लालपुर्जाविहीन छन् । स्थानीय सरकार आएको पनि चार वर्ष बित्यो । तर, यहाँको नागरिकहरूको समस्या सुल्झिएन ।

अव्यवस्थित रूपमा रहेको यो बजारमा ४० वर्षदेखि बसोबास गर्दै आए पनि अझै पुर्जा पाउन सकेका छैनन् । लाखौँ रुपैयाँ खर्चेर दर्जनभन्दा बढी पक्की तथा करिब ३०० घर कच्ची छन् । 

लालपुर्जा नहुँदा यहाँ निमार्ण भएका घर खरिद बिक्रीमा त समस्या छ नै, कुनै व्यापार व्यवसाय गर्न बैंक तथा वित्तीय संंस्थाबाट ऋणसमेत नपाउँदा व्यवसाय चलाउन नै समस्या हुँदै आएको स्थानीय दुखेसो पोख्छन् । लाखाैँ रुपैयाँको घर भए पनि कुनै मुल्य नभएको स्थानीयहरू बताउने गरेका छन् । 

बजारमा निमार्ण भएका घरहरूलाई लालपुर्जा वितरणका लागि विभिन्न समयमा पटक पटक प्रयास नभएका भने होइनन् । सरकारलाई यहाँका स्थानीय निकाय तथा बजार व्यवस्थापन समितिले सिफारिस गरी माग गर्दासमेत सुनुवाइ नभएको बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीको भनाइ छ । 

२०५८ साल गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले यहाँका ६० घरलाई धनीपुर्जा वितरण गरेको थियो । तर, ति धनीपुर्जासमेत कागज मै सीमित बनेका छन् । पुर्जामा १० वर्षसम्म बिक्री तथा लेनदेनसमेत गर्न नपाइने जनाइएको थियो । पुर्जा वितरण गरेको २० वर्ष बितिसक्दा पनि अन्यले पुर्जा पाउन सकेका छैनन् । 

स्थानीय सरकारले लालपुर्जा वितरणसम्बन्धी ऐन तयार गरी प्रक्रिया अगाडि बढाइएको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए । सरकारले लालपुर्जा वितरण गर्न नसक्दा बजारबाट प्राप्त हुने कर गुमाइरहेको छ ।  
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);