बिरामीलाई विकल्प हेलिकोप्टर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिरामीलाई विकल्प हेलिकोप्टर

सिन्धुपाल्चोक । हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दा कोही बिरामी परे हत्तपत्त हेलिकोप्टर कम्पनीको नम्बर खोज्छन् । गत असार र साउनमा मेलम्ची खोलामा आएको बाढीले मेलम्चीबाट हेलम्बु र पाँचपोखरी गाउँपालिका जोड्ने सबै सडक बगाएपछि यातायातका साधान नचल्दा उनीहरूको यातायातको साधनको विकल्प नै हेलिकोप्टर बन्ने गरेको छ ।

सामान्य अवस्थाका मानिस पैदलै ओहोरदोहोर गर्ने भए पनि हेलम्बु र पाँचपोखरी थाङपालदेखि बिरामीलाई बोकेर ल्याउन सम्भव हुँदैन । विशेषगरी गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर नै चार्टड गरेर अस्पताल पु-याउने गरेको हेलम्बुकी विवि तामाङ बताउँछिन् ।

बाढीले सडक बगाएपछि हेलम्बु क्षेत्रका मेलम्ची घ्याङ, नाकोते, तिम्बु, तार्केघ्याङ, शेर्माथाङ, इचोक, किउल र माहांकाल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका वडा नम्बर १, २ का बरुवा र बासखर्काबासी मारमा परेका छन् । अन्य ठाउँमा भने सडक सञ्चालनमा आएसँगै एम्बुलेन्स चल्न थालेको छ । तामाङ भन्छिन्, ‘बाटो छैन, हेलिकोप्टरमा खर्च गर्न नसक्नेले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ ।’

जसरी पनि ज्यान त बचाउनु पर्यो नि : शेर्पा

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमफुन्जो शेर्पाले धेरैले हेलिकोप्टरबाट सेवा लिइसकेको बताए । ‘कच्ची सडक त्यसमाथि वर्षायाममा बाढीले भत्काएपछि निकै कठिन भएको छ । जस्तो सुकै अवस्था भए पनि बिरामीलाई त बचाउनै पर्यो,’ शेर्पाले भने, ‘हाम्रो बिरामी मर्न लागे कसरी हुन्छ बचाउनु पर्यो भनेर फोन आउँछ, अनि हेलिकोप्टरबाट भए पनि उद्धार त गर्ने पर्यो ।’ 

सुत्केरी उद्धारमा हेलिकोप्टर प्रभावकारी

गत भदौमा पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङकी गर्भवती लक्ष्मी तामाङको हेलिकोप्टरमार्फत उद्धार भयोे । स्थानीय स्वास्थ्य चौकीमा दुई दिनदेखि भर्ना भएकी २२ वर्षीया तामाङको स्वास्थ चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरीङ तामाङले बताए  । 

पाठेघरको मुख पुरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिएको थियो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्यक्रमअनुसार उद्धार गरिन्छ भने अन्य रोगका बिरामीलाई भने स्थानीयको सहयोग आवश्यक हुन्छ । एम्बुलेन्समा बिरामी ल्याउन सम्भव नहुँदा हेलिकोप्टर चार्टड गर्नुपर्ने बाध्यता छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन लागिपरेको शेर्पाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);