मेलम्ची–पाँचपोखरीको सडक खण्डको बिजोग, हिउँदमा धुलाम्मे वर्षामा हिलाम्मे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मेलम्ची–पाँचपोखरीको सडक खण्डको बिजोग, हिउँदमा धुलाम्मे वर्षामा हिलाम्मे

सिन्धुपाल्चोक । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आन्नन्द मिल्छ सडककै कारण उक्त स्थानमा पुग्न सास्ती खेप्नुपर्छ । 

भोताङका दलु पाख्रिन ट्रिपर चालक हुन् । उनी नियमित रुपमा उक्त सडकखण्ड जोखिम मोलेर यात्रा गर्छन् । बाटोको कारण खर्च बढ्नुका साथै सवारी बिग्रने समस्या हुने उनी बताउँछन् । 

मेलम्ची बजार पार गरेर खाल्डे खोला  (पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमाना ) सम्मको बाटोमा यात्रा गर्दा एक ट्रिप सामान लैजादा दुई ट्रिपको खर्च निस्कने उनी बताउँछन् । खाल्डाखुल्डीका कारण हरेक साधनको पत्ता जानेदेखि टुटफुट हुँदा व्यवसायी मर्कामा छन् । 

मेलम्ची , खाल्डे हुँदै तिपेनी सम्मको सडकमा साधन चलाउँदा दुर्घटनाको जोखिम र सास्ती भएको लागर्चेका स्थानीय सरोज धिताल बताउँछन् । ‘सजिलो हुने हो भने ३० मिनेटमा मेलम्चीबाट पाँचपोखरीको सिमासम्म  पुग्न सकिन्छ,’ उनले भने, ‘तर दुई घण्टा बढी समय लाग्छ । त्रसित भएर यात्रा गर्नुपर्छ ।’  

साघुरो सडक त्यसैमाथि पहिरो र बाढीले छिया–छिया बनाएकाले सवारी सञ्चालन गर्न समस्या हुने गरेको चालकहरु बताउँछन् । दुर्घटनाको जोखिम घटाउन पहिरो नियन्त्रण र सडक स्तरोन्निति गर्नुपर्ने स्थानीय बताउँछन् । 

वर्षातको समयमा त उक्त सडकखण्ड सवारी चल्न सक्ने अवस्थामा नै हुँदैनन् । जसका कारण बिरामीलाई उपचारका लागि लैजानसमेत हेलिकोप्टरको प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । 

पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमानासम्म रहेको मेलम्ची नगरपालिका भित्र पर्ने ६ किलोमिटर सडकमा खाल्डाखुल्डी छ । २०७४ सालमा जनप्रतिनिधि आएपछि ४ किलोमिटर सडकको मेलम्ची नगरपालिकाले डिपिआर गरेर लगानी ब्यहोर्ने र थप सडक विभागले टेण्डर गर्ने सहमति बनेको थियो । 

तर, ५ वर्षको कार्यकाल पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकाले सडकको टेन्डर गरेको छैन । मेलम्चीका मेयर डम्बर अर्यालले नागरिकको समस्यालाई वेवास्ता गरेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् । 

मेलम्चीको सीमा काटेपछि भोग्नुपर्ने सास्ती पाँचपोखरीको सिमा सुरुभएपछि कम हुन्छ । १० किलोमिटर पाँचपोखरी सडक कालोपत्रे गर्ने गरी सडक विभागले टेण्डर निकालेको छ ।

सडकको काम अगाडि बढिरहँदा गत असार १ मा इन्द्रावती/ मेलम्ची नदीमा आएको बाढीका कारण समस्या उत्पन्न भएको छ । बाढी र पहिरोका कारण सडक जोखिममा परेको छ । 

उत्तरी भेगमा चौतारा सांगाचोकगढी नगरपालिकाले र दक्षिणी भेगमा मेलम्ची नगरपालिकाले पाँचपोखरी सीमा जोड्ने सडक ब्यवस्थित नगरिदिँदा यो भेगका नागरिकले सास्ती खेप्दै आएका छन् ।  

पाँचपोखरी थाङपालका स्थानीय  वर्षात् सुरु हुनुभन्दा अघिबाटै सडक अवरुद्ध हुने कुराले चिन्तामा छन् । पाँचपोखरी थाङपाल गाउँपालिकासँग बैकल्पिक सडक नहुँदा वर्षातको समयमा थुप्रै चुनौती खेप्नुपर्छ । पानी पर्न थालेसँगै सडकमार्ग प्रयोग गरेर मेलम्ची पुग्न सकिने अवस्था हुँदैन । चनौटे पुल पुग्ने सडक मार्गनै यतिबेला ध्वस्त छ ।

पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामा चौतारा सांगाचोकगढी नगरपालिकाले गोब्रेको सिमानासम्म स्तरउन्नती गरेमा चौताराको सडक मार्ग प्रयोग गर्न सकिने बताउँछन् । समय छँदै सडकको विकल्प नसोचिए बिरामी पर्दापनि  नागरिक हेलिकप्टरको भर पर्नु पर्ने अवस्था रहने उनी बताउँछन् ।

सिमाना जोडिए चौतारा सांगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकासंग वर्षामा पर्ने सडक समस्या बारे छलफल भईरहेको अध्यक्ष लामा बताउँछन् ।

वर्षात लागेसँगै सडक सञ्जाल टुट्दा माथिल्लो भेगमा उपभोग्य सामाग्रीको अभाव हुने गरेको छ भने स्थानीयले महँगोमा सामान खरिद गर्नु पर्ने अवस्था बन्ने गरेको छ । त्यसैले स्थानीय सरकारहरुले समन्वय गरेर नागरिकलाई सहजता दिनुपर्ने स्थानीयहरु बताउँछन् ।

वर्खा लाग्छ, सडक सन्जाल टुट्छ अनि माथिल्लो भेगमा दैनिक उपभोग्य सामानको भाउले आकाश छुन्छ । विगतका वर्षमा पनि सडक संजाल टुटेपछि पाँचपोखरीका नागरीकले अनेकौ कष्ट भोगेका थिए ।  

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);