नक्कली सवारी किताब तयार गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने १६ जनाको गिरोहलाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नक्कली सवारी किताब तयार गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने १६ जनाको गिरोहलाई पक्राउ

नक्कली सवारी किताब तयारी गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । चोरीका मोटरसाइकलविरुद्ध ‘अप्रेसन मेक चार्ली’ अभियान नै संचालन गरेर चितवन प्रहरीले नक्कली सवारी किताब तयार गरी चोरीका मोटरसाइकल प्रयोग गर्ने १६ जनाको गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट नक्कली सवारी किताबसहित मोटरसाइकलहरू बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो करिब एक महिनाको अवधिमा मोटरसाइकल चोरी तथा खरिद बिक्रीमा संलग्न गिरोह बिभिन्न ठाउँबाट पक्राउ परेको हो ।  

थापाका अनुसार गत २७ भदौमा बागमती प्रदेश ०२–०१८ प ७२६० र बागमती प्रदेश ०२–०१८ प ३५२७ नम्बरको मोटरासाइकल तथा नक्कली सवारी दर्ता किताबसहित सरोज खतिवडा र मीनबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘सोही नक्कली किताबका आधारमा उक्त गिरोह नै पक्राउ गर्न प्रहरी सफल भएको हो’, थापाले भने, ‘१६ जनासहित उनीहरूको साथबाट मोटरसाइकल, मोटरसाइकल चोरीमा प्रयोग हुने सामान र नगदसमेत बरामद गरिएको छ ।’

प्रहरीका अनुसार २७ भदौमै उक्त चोरीका मोटरसाइकल बिक्री गर्ने भरतपुर महानगरपालिका–२१ का ३२ वर्षीय टेजन पुनलाई बा९५प २८०० नम्बरको मोटरसाइकल र सवारी दर्ता किताबसहित पक्राउ परेका थिए । 

सोही दिन भरतपुर–१५ बस्ने ३४ वर्षीय हिमाल पुन प्रदेश ३-०२-०२१ प १४५६, २३ वर्षीय अरूण पुन प्रदेश ३-०२-०१५ प ६७८९ र वडा नम्बर १६ बस्ने २५ वर्षीय सज्जन बुढाथोकी प्रदेश ३-०२-०२५ प ४२५९ नम्बरको मोटरसाइकल र नक्कली सवारी दर्ता किताबसहित पक्राउ परे । यस्तै भरतपुर -४ का ४० वर्षीय अरूण कँडेल, भरतपुर–११ बस्ने २२ वर्षीय अनिष श्रेष्ठ र २४ वर्षीय अशोक कुमाललाई पनि प्रहरीले पक्राउ गरेका छ । टेजन, अरूण, अनिष र अशोक  बरामद गरिएका मोटरसाइकलहरूको खरिद बिक्रीमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कका २८ वर्षीय रविन गुरूङ बागमती प्रदेश ०३-००४ प ४७४८ नम्बरको बुलेट मोटरसाइकलसहित ३ असोजमा पक्राउ परे । बसपार्कमा पार्किङ गरेर राखिएको उक्त मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल ३ गते नै बिक्री गर्ने कार्यमा संलग्न भरतपुर–२ का २२ वर्षीय उदय गुप्तालाई पोखरा बसपार्कबाट र बारा बारागढी गाउँपालिका–६ का २८ वर्षीय राजेश चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उदयको कोठाबाट मोटरसाइकल बिक्री गरेको रकममध्ये २४ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल चोरी गर्ने बारा करैयामाई गाउँपालिका–९ बस्ने ३२ वर्षीय सुनिल चौधरी र जितपुर सिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लक्की चौधरीलाई भरतपुर–१० बाट प्रदेश २–०३–०१५ प २१२३ नम्बरको ड्यूक मोटरसाइकलसहित पक्राउ परे ।

लक्कीको साथबाट ३ हजार ८० रुपैयाँ र सुनिलको साथबाट ६३ हजार ९ सय २० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । सुनिल र लक्कीले उक्त मोटरसाइकल चोरी गरेर राजेश र उदयमार्फत ९५ हजारमा रविनलाई विक्री गरी २५ हजार आफैले राखेर ७० हजार चोरी गर्ने सुनिल र लक्कीलाई दिएको खुलेको छ । पक्राउ परेका मानिसहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अप्रेशन संचालन गरेपश्चात १ महिनाको अवधिमा बुलेट, पल्सरलगायत बिभिन्न कम्पनिका १३ वटा चोरीका मोटरसाइकल र उक्त चोरी कार्यमा संलग्न १६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२५ लिखत सम्बन्धी कसूरको दफा २७६ मा सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना र परिच्छेद २० चोरी तथा डाँका सम्बन्धी कसुरको दफा २४२ मा चोरी गर्ने वा गराउनेलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);