घर पाउने आसमा दुई वर्ष बित्यो, गाउँपालिकाले बनाएको घर अझै पूरा भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

घर पाउने आसमा दुई वर्ष बित्यो, गाउँपालिकाले बनाएको घर अझै पूरा भएन

झापा । कमल गाउँपालिका– १ माझगाउँका सुकुम्बासी सन्थाललाई दुई वर्षअघि गाउँपालिकाले घर बनाइदिने आश्वासन दियो । वडा कार्यालयले १० घर सुकुम्बासीको नाम पनि टिपेर लग्यो । किस्नी खोलाको डिलमा बस्ने यी सुकुम्बासी सन्थाल घर पक्की घर पाउने भएपछि किनै खुसी भए । भत्किन लागेको घरमा बर्खामा पानी र हिउँदमा शीत झेलेर जीवन चलाउँदै थिए उनीहरू । घर बनाइदिने भनेर १० घरमध्ये केहीको घर भत्काउन लगाइयो । उनीहरूले फुसको छानो लगाएर अस्थायी घर पनि बनाए ।

२०७६ मंसिरदेखि घर पनि बन्न सुरु भयो । तर, दुई वर्षदेखि घर निर्माणाधीन अवस्थामै छन् । ‘काम किस्ताकिस्तामा हुन्छ । घर सकेर लामो समयसम्म टिन लगाएनन्’, सुकुम्बासी हिन्दिया मुर्मु भन्छिन्, ‘अस्ति जेठदेखि टिन लगाउन सुरु ग¥यो तर अहिलेसम्म काम सक्दैन । यो घरमा त हामीले बस्न पाउँदैनौँ होला ।’

दुई वर्षदेखि लथालिङ्ग भएका १० वटा घरमध्ये एउटामा जस्तापाता लगाइएको छ । पाँचवटा घरको झ्यालढोका लगाउनै बाँकी छ । यसका कारण विपन्न सन्थालको पक्की नयाँ घरमा बस्ने सपना अपूरै रहेको छ । ‘दुई वर्षदेखि बनाउँछु मात्र भन्छन् । अहिलेसम्म पूरा गरेनन् । अब त के आस गर्ने र !’, पूजा टुडु भन्छिन्, ‘वडा अध्यक्ष पनि गाउँमा आउनै छाडे । पहिला त आएर घर बनाइदिन्छु भन्थे ।’

गाउँपालिकाले आस नदेखाएको भए बरु फुसको लड्न लागेको घरमा जीवन बिताउने बताउँछन् उनीहरू । आँखै अगाडि पक्की गर बनाउन सुरु गरेको छ । उनीहरूमा घर पाउने आस पनि छ । तर, आसैआसमा निराश हुनुपर्ने हो कि भन्ने चिन्ता पनि छ सन्थाल सुकुम्बासीलाई । ‘बरु आस नै नदेखाएको भए हुने नि ! आस देखाएर किन यस्तो गरेको ?’, पूजा भन्छिन्, ‘नेताका त गफ मात्र ठूला हुन्छन् । यति गर्न नसकेको कि गर्न नचाहेको ?’

यस पटकको बर्खामा सुकुम्बासीका भत्कनै लागेका घरले थामेनन् । केही सुकुम्बासीले टिन मात्र लगाएको घरमा बस्न थालेका छन् । ‘भएको घर बर्खामा पानी चुहिएर भत्कियो । गाउँपालिकाले दिन्छु भनेको घर अझै राम्रोसँग बनेको छैन’, सिर्जना टुडु भन्छिन्, ‘बस्ने ठाउँ नभएकाले गाउँपालिकाले पूरा घर नबनाइदिए पनि हामी त बस्न थाल्यौँ । यसो नगरे त बस्ने ठाउँ नै भएन हाम्रो त !’

विपन्न सन्थालका लागि सरकारले बनाइदिएको घर पनि सानो भएको छ । उनीहरूको परिवार संख्या ठूलो छ । अधिकांश घरमा १० जनाको परिवार छ । तर, गाउँपालिकाले बनाएको घरमा साना कोठा छन् । एउटा कोठामा दुईवटा खाट पनि राम्रोसँग अट्दैनन् । भान्सा कहाँ बनाउने ? त्यत्रो परिवारलाई कहाँ सुताउने भन्ने चिन्ता छ सुकुम्बासीलाई । ‘हामीलाई राधा टुडुको नाममा एउटा घर दिएको छ । उहाँ मेरो ससुरा हो । हाम्रो सबै परिवार जोड्दा १० जनाको छ’, सिर्जना भन्छिन्, ‘यत्रो सानो कोठा भएको घरमा कसरी यतिका मान्छे अट्ने ।’

वृद्धा हिन्दियाको घरमा पनि १० जनाको परिवार छ तर दुई कोठे घरमा गाउँपालिकाले दिएपछि पनि कहाँ बस्ने भन्ने चिन्ताले सताएको छ उनलाई । ‘बरु अहिले जसोतसो आफ्नै भत्किन लागेको घरमा अटेका छौँ । अब यहाँ सरेपछि कसरी अट्ने ?’, उनी भन्छिन्, ‘कोठा पनि सानो छ । १० जना त कसरी अटाइएला ?’

पूजाको परिवार सासू–ससुरासँग छुट्टिएर दुई परिवार भएको छ । तर, गाउँपालिकाले एउटै घरमा एक÷एक कोठामा बस्नू भनेको छ उनीहरूलाई । ‘ससुराको परिवारमा चार जना हुनुहुन्छ, हामी तीन जना छौँ । कोठा जम्मा दुईवटा छन् । कहाँ बस्ने ? कहाँ पकाएर खाने ? गाउँपालिकाले बुझ्नुपर्दैन ?’, पूजा भन्छिन्, ‘हाम्रामा पनि कहिलेकाहीँ पाहुना आउँछन् । उनीहरूलाई कहाँ राख्ने ?’

सन्थालका लागि बनेका १० वटा घर जनता आवास कार्यक्रममार्फत बनेको कमल– १ का वडा अध्यक्ष केदार कटुवालले जानकारी दिए । यी घरका लागि भनेर प्रतिघर करिब तीन लाख २५ हजार रुपैयाँ आएको उनले बताए ।

पछिल्लो पटक १० वटा घरमा जस्ता लगाउन भनेर साढे तीन लाख रुपैयाँ बजेट आएको उनले बताए । तर, काम गर्दा करिब आठ लाख रुपैयाँ बिल उठेका कारण काम गर्न समस्या भएको उनको भनाइ छ ।

‘सरकारले ८० प्रतिशत र लाभग्राहीले २० प्रतिशत लगाउनुपर्ने गरी बजेट आएको छ । ८० प्रतिशत आउने सबै बजेट सकियो । तर, अब सन्थाललाई २० प्रतिशत झिक भन्ने अवस्था छैन बरु उनीहरू घरमै बस्दैनन् । उनीहरूसँग दिने पैसा छैन । बिहान–बेलुका छाक टार्न नै मुस्किल छ उनीहरूलाई’, वडा अध्यक्ष कटुवालले भने, ‘चन्दा उठाएर काम गर्नुपर्ने अवस्था छ । चाँडै नै काम सकेर सुकुम्बासीलाई घर जिम्मा लगाउँछौँ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);