रौतहटमा मुसहर लक्षित जनता आवास कार्यक्रम अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रौतहटमा मुसहर लक्षित जनता आवास कार्यक्रम अलपत्र

राकेश यादव

रौतहट, २६ साउन । रौतहटको चन्द्रपुर–९ स्थित चेतनगरटोलका मुसहरलाई लक्षित गरी १७ महिना अघि सुरु गरिएको जनता आवास कार्यक्रम अलपत्र परेको छ । सरकारले बनाइदिन लागेको दुई कोठे घर समयमै निर्माण नहुँदा मुसहर परिवार विचल्लीमा परेका छन् । बस्तीमा रहेका अधिकांश मुसहर परिवार बालबच्चासहित प्रतिक्षालयमै रात विताइरहेका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत रौतहटको चन्द्रपुर–९ चेतनगरटोलका मुसहर परिवारलाई घर बनाउन सुरु गरेको १७ महिना वितिसक्यो । तर, अझै घर निर्माण हुन सकेको छैन ।

घर नुहँदा शितलहर र चर्को गर्मी झेलेका मुसहर परिवार बर्षा कसरी काट्ने भन्ने चिन्तामा छन् । चेतनगरको मुसहरटोलमा रहेका ७२ वटा झुपडी मध्ये २१ वटा झुपडी भत्काएर पक्कीघर बनाउन लागिएको भएपनि करीब डेढबर्ष देखी घर निर्माण कार्य अलपत्र छ ।

२१ मध्ये ३ वटा घरको जग मात्रै उठाइएको छ भने अन्य घरको पर्खाल उठाएर छोडिएको छ । पर्खाल मात्रै लगाएको घरमा केहीले पाल टाँगेर बस्दै आएका छन् भने केहीले फुसको झुपडी बनाएका छन् ।

अधिकांश मुसहर परिवार बस्तिबीचमा रहेको प्रतिक्षालयमा बालबच्चासहित रात काटिरहेका छन् । उनीहरु सरकारले घर बनाइदिन लागेको भन्नेसम्म जानकार छन् । तर, घर निर्माण कार्य किन रोकियो भन्ने बारेमा उनीहरु अनभिज्ञ छन् । जिल्लाको ३६ वटा दलित बस्तिमा ८ सय भन्दा बढी घरहरु अधुरो अवस्थामा छन् ।

पक्की घर बनाइदिने आश्वासनमा भइराखेको छाप्रो पनि भत्काएपछि उनीहरु विचल्लीमा परेका छन् । बर्षा सुरु भएपछि उनीहरुको दैनिकी झनै कष्टकर बनेको छ । निरन्तको झरीले भिजेपछि बालबालिका बिरामी पर्न थालेका छन् । पकाएर खाने र सुत्ने ठाउँसमेत नभएको उनीहरुको गुनासो छ ।

डेढ वर्ष देखि पक्की घर बन्ने आसमा रहेका मुसहर परिवारले अझै कति दिन कष्ट भोग्नुपर्ने हो पत्तो छैन । स्वयम व्यक्तिले नै घर बनाउने नियम भएपनि दलीय पहुँचका आधारमा आफ्ना नजिकका व्यक्तिलाई घर बनाउन ठेक्का दिँदा समस्या आएको स्थानीयको गुनासो छ । शहरी विकास भवन डिभिजन इकाइ कार्यालयले भने बजेट अभावका कारण समस्या भएको बताएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);