कांग्रेस महाधिवेशन : खोटाङका ७० वडामा सर्वसम्मत, आठमा मतदान, एकमा स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस महाधिवेशन : खोटाङका ७० वडामा सर्वसम्मत, आठमा मतदान, एकमा स्थगित

खोटाङ । नेपाली कांग्रेसको महाधिवेशनअन्तगृत खोटाङको ७० वडामा सर्वसम्मत ढंगले वडा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकामा ७९ वडा छन् । जसमध्ये ७० वडामा सर्वसम्मत र आठ वडामा मतदानका माध्यमबाट नेतृत्व चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि टुंगो लगाइएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाबाहेक सबै वडाको अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

सहमति नजुट्दा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा, डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशसन टुंग्याइएको कांग्रेसले जनाएको छ ।

जिल्लामा कांग्रेसका ६ हजार आठ सय क्रियाशील सदस्य छन् । हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसम्मत ढंगबाट वडा अधिवेशन सम्पन्न भएको कांग्रेसले जनाएको छ । कांग्रेसको वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ ।

निर्मलीडाँडाको अधिवेशन स्थगित

चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडा अधिवेशन स्थगित गरिएको छ । शुक्रबार वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमतिमै अधिवेशन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए । निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् ।

याम्खामा तनाव

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको वडा अधिवेशन तनावका बीच टुंगिएको छ । शनिबार बिहान मतगणनाको क्रममा विवाद आएपछि साँझ पुनः गणना सुरु गराएर परिणाम सार्वजनिक गरिएको हो । मतदान अधिकृतले राति १ः१८ बजे निर्वाचन परिणाम सार्वजनिक गरेको जनाएको छ । याम्खामा लक्ष्मीकुमार राईलाई पराजित गर्दै रामचन्द्र राई वडा सभापति निर्वाचित भएका छन् । चुनाव भएका वडाको मतपरिणाम शनिबार दिउँसो आइसके पनि याम्खाको मत परिणाम भने अवेर राति मात्र आएको हो । प्यानलका आधारमा याम्खाको कांग्रेस वडा अधिवेशनलाई जिल्लामै चासोका साथ हेरिएको थियो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई र नेविसंघका जिल्ला उपाध्यक्ष नइन्द्र राईको वडा याम्खामा घम्साघम्सी मतदान भएको हो । गाउँपालिका अध्यक्ष राईले रामचन्द्रलाई र नेविसंघका जिल्ला उपाध्यक्ष राईको टोलीले लक्ष्मीकुमारलाई वडा सभापतिको उम्मेदवार उठाएका थिए । लक्ष्मीकुमारको प्यानलले भने मतपरिणामलाई अस्वीकार गरेको बताएको छ । नेविसंघका उपाध्यक्ष राईले एकलौटी मतपरिणाम घोषणा गरिएको आरोप लगाएका छन् । ‘खसेकोभन्दा एक मतपत्र बढी पाइयो । त्यसपछि हामीले पुनः निर्वाचन गर्नुपर्ने माग राख्यौं । निर्वाचन अधिकृतलाई निवेदन दियौं,’ उपाध्यक्ष राईले भने, ‘तर एकलौटी मत गणना गरेर परिणाम घोषणा भएको छ । यो स्वीकार्य छैन । हामी बहिस्कार गर्छौँ ।’

१०९औं मतपत्र गणनाका क्रममा विवाद सुरु भएको थियो । गाउँपालिका अध्यक्ष राईले भने हार हुने निश्चित भएपछि मतपत्रको विषयमा विवाद झिकिएको बताए । ‘समावेशी र खुलातर्फको मतपत्र सँगै राखेर स्टिच गरेको हुनुपर्नेमा खुलाको मतपत्र स्टिच भएको रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यस्तो मतपत्र बदर हुने व्यवस्था छ । त्यो मतपत्रमा उहाँहरुलाई नै भोट हालिएको रहेछ, त्यसलाई सदर मान्ने निर्णय गर्‍यौँ । तर पुनः मतदानको माग आयो, जुन सम्भव नै थिएन ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);