एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ’टोकियो ओलम्पिक’ पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ ।
राजधानी टोकियोमा जारी ओलम्पिक अन्तर्गत बुधबारसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो हुँदा जापानले अग्रता कायमै राखेको हो । जसमा रसियन ओलम्पिक टिम सहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
जापानले १३ स्वर्ण पदक सहित कुल २२ पदक जितेको छ । चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्ण सहित कुल ३१ पदक जितेको छ ।
रसियन ओलम्पिक टिम ७ स्वर्ण सहित कुल २३ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्ण सहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ । यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३÷३ स्वर्ण पदक हात पारेका छन् ।
२ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया र कोसोभो रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २१ रहेको छ । बुधबार महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी नेपालकी पौडीबाज गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन ।