सिंघीया खोला किनारमा तटबन्ध निर्माण कार्य सुरु भएपछि हर्षित तीनपैनीवासी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिंघीया खोला किनारमा तटबन्ध निर्माण कार्य सुरु भएपछि हर्षित तीनपैनीवासी

विराटनगर । खाडल खनेर लथालिङ छाडिएको विराटनगरस्थित सिंघीया खोला किनारमा तटबन्धको निर्माण कार्य सुरु भएको छ । खाडल खनेर यत्तिकै छाडिंदा खोलाको बाढीले घर भास्सिने हो कि चिन्तामा परेका सुकुम्बासी परिवार तटबन्ध निर्माण सुरु भएसंगै हर्षित भएका छन् ।

सिंघीया खोला किनारामा तटबन्ध निर्माणको कामले निरन्तरता पाएसँगै विराटनगर महानगरपालिका–२ स्थित तीनपैनी पूर्व टोलवासी हर्षित भएका हुन् । असारको पहिलो साता खाडल खनेर स्थानीय उपभोक्ता समितिले सुरु गरेको सो निर्माण कार्य बाढी र डुबानका कारण स्थगित गर्नु परेको थियो । खोलाको सतह बढेसँगै पानीले माटो कटान गर्दै लगेपछि स्थानीयवासी घर नै भत्काएर लैजाने डरले त्रसित भएका थिए । केही दिन अघि देखि सो खोलाको तटबन्ध निर्माणको काम पुनः सुरु भएपछि स्थानीय बासिन्दाले राहतको महशुस गएको स्थानीय जगदीश सहनीले बताए ।

यतिखेर आवश्यक उपकरणसहित १० जना मजदुरको समुह निरन्तर तटबन्धको निर्माण कार्यमा खटिएका छन् । उनीहरु निर्माणस्थल नजिकै रहेको तीनपैनी स्पोर्टिङ क्बलको एककोठे भवनमा क्याम्प राखेर निर्माण कार्यलाई निरन्तरता दिईरहेका छन् । कुनै बाधा अवरोध बिना निरन्तर काममा खटिन पाए आउँदो दुई तीन दिनभित्रै सम्झौता अनुसारको तटबन्ध निर्माण गरिसक्ने मजदुरहरुले बताएका छन् । संघीय सरकारको ‘तराई–मधेश समृद्धि कार्यक्रम’ अन्र्तगत उक्त क्षेत्रमा झण्डै १० लाख रकमको बजेटबाट ३७ मिटर लम्बाईको तटबन्ध निर्माण गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।

यसअघि आफूहरुले निर्माण कार्य सुरु गराएको भएपनि असारको दोस्रो साता खोलाको सतह बढेका कारण ल्याइएका मजदुरहरुले काम गर्न नमानेपछि केही दिन निर्माण कार्य प्रभावित भएको उपभोक्ता समितिको भनाई छ । यद्यपि फेरी काम सुरु भएको र आउँदो केही दिनमै निर्माण सम्पन्न हुने समितिका अध्यक्ष शिला दिक्षीत कार्कीले बताईन् ।

खोलाको पानीको सतह बढ्ने तथा बाढी आउन सक्ने साउन र भदौ महिना बाँकी रहेका कारण यसअघि निर्माण रोकिएपछि सुकुम्बासी परिवारमा चिन्ता छाएको थियो । यद्यपि हाल निर्माण सुचारु भएको तथा केही दिनभित्रै तटबन्धको निर्माण सम्पन्न हुने कुरामा उनीहरु आशावादी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);