सिंघीया खोला किनारमा खनिएको गहिरो खाडलका कारण तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिंघीया खोला किनारमा खनिएको गहिरो खाडलका कारण तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर २ तीनपैनीको उत्तर–पूर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्राशको अवस्था छ । लगातार वर्षा भइरहेको र घर पछाडिबाट बग्ने सिंघीया खोला किनारमा गहिरो खाडल खनेर छाडिएका कारण खोलाको बाढीले जुनसुकै बेला घर कटान भएर बगाउन सक्ने भएपछि उनीहरुमा त्राश छाएको हो ।

चालु महिनाको असार ६ गते तटबन्ध निर्माणका लागि भन्दै सो ठाँउमा खाडल खनिएको स्थानीयले जानकारी दिए । यो पानी पर्ने समयमा आफूहरु ठूलो जोखिममा रहेको पीडित जगदीश सहनीले बताए । निर्माण पक्षलाई तटबन्धको काम छिटो गर्न आग्रह गर्दा चासो नदिएको स्थानीय सहनीले गुनासो गरे ।

उत्तरबाट दक्षिणतर्फ खनिएको खाडलका कारण स्थानीय जगदीश सहनी,रमेश झा,सुरेन्द्र सहनी र रामु सहनीको घर सबैभन्दा बढी जोखिममा परेको छ । उनीहरुको घर पछाडि नै खाडल खनिएका कारण घर तथा बारीका भित्ताहरु भास्सिन थालेको छ ।

खाडलकै कारण बस्तीको उत्तरतर्फ रहेको तीनपैनी स्पोर्टिङ क्लबको जगको माटो समेत भास्सिएर ढल्ने जोखिममा छ । क्लबको सो भवन दक्षिणतर्फ फैलिएको सुकुम्बासी बस्तीका लागि बाढीको बेगबाट जोगिने महत्वपूर्ण सुरक्षा कवचको रुपमा समेत काम गर्दै आएको छ । बाढी आउने महिना साउन भदौ बाँकी रहेकाले उक्त क्षेत्रको सिंगो बस्ती नै कटानको जोखिममा परेको स्थानीय मनोज मलहाले दुखेसो गरे ।

संघीय सरकारको तराईमधेश समृद्धि कार्यक्रम अन्र्तगत उक्त क्षेत्रमा बोल्डर हाल्न सय फिट बढी लम्बाईको खाडल खनिएको हो । झण्डै १० लाख बजेटबाट तटबन्ध निर्माण गर्न स्थानीय शिला दिक्षीत कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।

तारजाली र बोल्डर हाल्ने काम शुरु गरिएपनि पछिल्लो समय मजदुर अभावका कारण काममा ढिलाई भइरहेको अध्यक्ष कार्कीले बताए । आँउदो केही दिन भित्रै तटबन्धको काम सक्ने उनका दाबी छ ।

खोलालाई नियन्त्रण गर्न तटबन्ध गर्न खाडल खनिएको भएपनि मध्यवर्षातको समयमा निर्माण गर्न खोजिएकाले स्थानीयको जिउधन जोखिममा परेको हो । तसर्थ सम्भावित दुर्घटनालाई टार्न समयमै निर्माण सक्नु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);