साफ च्याम्पियनसिप आयोजनाको आवश्यक प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

साफ च्याम्पियनसिप आयोजनाको आवश्यक प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्प्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी र सम्बन्धीत निकायहरु प्रतियोगिताका लागि तयार भए सरकारले आयोजना गर्न सक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आयोजनाका लागि सबै तयार भए सरकार पनि तयार भएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाका पदाधिकारीहरले साफ गर्न सक्ने बताएपछि प्रधानमन्त्रीले त्यसका लागि सम्पुर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले दशैंको बेलामा प्रतियोगिता हुने भएकाले खेलाडीलाई उपाधि उचाल्दै दशै मनाउने लक्ष्य सहित तयार गर्न आग्रह गरेका छन्।

बंगलादेशले प्रतियोगिता गर्न नसक्ने भनेपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ। अब बंगलादेशले आयोजना नगरेको खण्डमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी गरेको छ । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको छ ।

बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसैबर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताईसकेको छ । बंगलादेशले प्रतियोगिता आयोजनाबाट हात झिकेपछि नेपालसँगै श्रीलंकाले पनि साफ आयोजनामा दाबी गरेको छ । नेपाललाई आयोजना गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न नेपाली टोलीका कप्तान किरण चेम्जोङले सरकारसंग आग्रह गरेका छन् ।

पछिल्लो पटक नेपालले सन २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । घरेलु रंगशालामा आयोजना गर्दा नेपालले अन्तिम चार सम्मको यात्रा तय गरेको थियो भने पछिल्लो पटक सन २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो । हालै मात्र नियुक्त भएका कुवेतका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको लक्ष्य राखेर अहिले ५० प्रारम्भिक खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);