काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
शुक्रबार बिहान साढे ११ बजे बैठक बस्ने भनिएको भएपनि नेता माधव कुमार नेपाल पक्षका नेताहरु ढिलो उपस्थित भएपछि बैठक केही बेर अघि मात्र सुरु भएको हो ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार साँझ दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि बैठक आज पुनः बसेको हो । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदल सदस्यले आजको बैठकमा सबै विवादको समाधान गर्ने दाबी गरेका छन् ।
यसअघि बिहिबार बसेको पहिलो बैठक पछि दुवै पक्षका नेताले बैठक सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । तर साँझ बसेको बैठकले भने विवाद सुझाउन सकेन । एमाले उपमहासचिव एवम् कार्यदलका सदस्य घनश्याम भुसालले बैठकमा कुनै प्रगति हुन नसकेको र आजको बैठकमा थप छलफल हुने बताएका थिए ।
भूसालले १० दिनदेखि पार्टी विवाद मिलाउने विषयमा कुनै प्रगति नभएपनि छलफल भने जारी रहेको प्रतिकृया दिएका थिए ।