धुलिखेल । धुलिखेल नगर क्षेत्रलाई सबै प्रकारका बन्द हड्ताल मुक्त शहर घोषणा गरेको छ ।

नगरपालिकाले नगर सभाको नवौं अधिबेशनमा पालिकालाई बन्द हड्ताल मुक्त शहर घोषणा गरेको हो । असार ७ गते शुरु भएको नगर सभाको अधिबेशनले विशेष १२ वटा प्रस्ताव पास गरेको थियो ।
जसमा उद्योग सञ्चालन गर्न लिजमा जग्गा उपलब्ध गराउने, लिक्वीड ग्यांस उद्योग स्थापना, मञ्जुश्री पार्क तथा तामाङ संग्रहालय निर्माण, धुलिखेल, श्रीखण्डपुर र ईटेलाई बिशेष संरक्षित क्षेत्र बनाउने, श्रीखण्डपुरको २०३४ सालको नापीमा नापी हुन छुट जग्गाहरुको नापजाँच गर्ने, विपि हाईवेको दायाँ बायाँ १०–१० मिटर मुआब्जासहितको अधिग्रहण सम्बन्धमा निर्णय गरको थियो ।

त्यस्तै पर्यटकमैत्री शहर घोषणा र सोको कार्यक्रम सम्बन्धमा, सूर्यविनायक देखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण गर्ने, धुलिखेलको उपयुक्त स्थानमा स्मार्ट प्रबिधिसहितको कृषि उपज बजार स्थल निर्माण गर्ने, धुलिखेल नगरमा ब्यवस्थित बधशाला निर्माण, धुलिखेल नगरमा माउण्टेनियरिङ स्पोर्टस् सेन्टर निर्माण गर्ने विषयलाई अधिवेशनले पास गरेको नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।
त्यस्तै मेयर श्रेष्ठले स्वास्थ्य वीमा, निःशुल्क डाईलासिश सेवा तथा स्वस्थ शहर निर्माण, प्रविधिसहितको सेवामा नगरपालिकाले नागरिकहरुको आयआर्जनमा ध्यान दिएको बताए ।




