जनकपुर। धनुषा जिल्लामा आफ्नै छोराद्धारा बाबुको हत्या भएको छ । अंश बण्डाको विवादमा छोराले बिहीबार राति बाबुको हत्या गरेका हुन्।
धनुषाधाम नगरपालिका– १ काशिपुर बस्ने ७० वर्षीय विशो यादवलाई आफ्नै कान्छो छोरा श्रीकृष्ण यादवले हत्या गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन् । सोधपुछको क्रममा अपराध स्वीकार गरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।
विवाद भएपछि आक्रोसमा आएर छोरा श्रीकृष्णले मसला कुट्ने खलले प्रहार गरी बाबुको हत्या भएको हुन सक्ने प्रहरीले बताएको छ ।
अंशबण्डा र अन्य घरायसी विवादका कारण घरमा निरन्तर झै घगडा तथा कुटपिट भइरहेको स्थानीयको भनाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको हो ।
मृतक यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।