लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।आइतबार बसेको प्रदेशसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश सरकारमा सहभागी सत्तारुढ एमालेका ३८ र जसपाका ४ सांसदले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोणणा गरेका हुन् । प्रदेशसभामा विपक्षी दलमा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ विपक्षी गठबन्धनमा छन् ।
योसँगै मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई राहत मिलेको छ । नीति तथा कार्यक्रम पारितसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो खुल्ला भएको हो । प्रदेश प्रमुख धर्मनाथ साहले जेठ २५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेको समयमा आइतबार बहुमतले पास गरेको हो ।