सुवास आचार्य,
बागलुङ । कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव हुन नदिन बागलुङमा अक्सिजन बैंक स्थापना गर्ने अभियान सुरु भएको छ ।
गण्डकी प्रदेशको पहिलो कोभिड अस्पताल धौलागिरी अस्पताल बागलुङले कोरोना संक्रमित बिरामीको लागि अति आवश्यक पर्ने अक्सिजन अभाव हुन नदिनको लागि अक्सिजन सिलिन्डर बैंक घोषणा गरेपछि विभिन्न स्थानहरुबाट सहयोग जुटिरहेको छ ।
अस्पतालमा भएको अक्सिजन सिलिन्डर कम भई उपचारमा समस्या भएपछि अस्पतालमा दुई सय ५० थान अक्सिजन सिलिन्डर जम्मा गरी सेवा दिन बैंक स्थापना गर्न लागेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए ।
बैकर्स एसोसिएसन बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले चन्दा उठाएर अस्पतालालाई सहयोग गरेका छन् । उनीहरुले व्यक्तिगत रुपमा संकलन गरेको १ लाख ४६ हजार ५ सय रुपैयाँबाट ७ वटा अक्सिजन सिलिण्डर खरिद गरेर सहयोग गरेको एसोसिएसनका अध्यक्ष दिपक पौडेलले बताए ।
धौलागिरी अस्पताल बागलुङमा अक्सिजन प्लान्ट संचालनमा रहेपनि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न नसकेको कारण अक्सिजन बैक स्थापना गर्नु परेको अस्पतालले जनाएको छ ।
यसैक्रममा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले व्यक्तिगत रुपमा ३० वटा सिलिण्डर सहयोग गरेका छन् ।
धौलागिरी अस्पतालमा अहिले अस्पताल कै अक्सिजन सिलिन्डर १८ ,ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले ३०, गण्डकी प्रदेश सरकार बाट २५ ,एभरेस्ट बैंकबाट १० , कालीका भगवती गुठी व्यवस्थापन समितिबाट १५ बैंकर्स बागलुङबाट ७ , राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले ५ तथा विभिन्न संघ संस्थाबाट गरी अहिलेसम्म अक्सिजन बैंकमा एक सय ४९ वटा अक्सिजन सिलिन्डर जम्मा भइसकेका छन् ।