नवलपरासी, ४ कार्तिक । नवलपरासीमा जारी अन्तरराष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिताको उपाधि भारतका शैलेश पहलवानले हासिल गरेका छन्। नवलपरासीको प्रतापुर गाउँपालिका वडा नं ७ गुठी सूर्यपुरामा शुक्रबार आयोजित विराट दंगल प्रतियोगिता शैलेश सो उपाधि जित्न सफल भएका हुन्।
प्रथम उपाधिका लागि भारत, गोरखपुरका शैलेश र भारतकै महराजगञ्जका बल्ले पहलवानबीच प्रतिस्पर्धा भएको थियो। शैलेशले रु पाँच हजारसहित पदक र द्वितीय हुने बल्लेले रु तीन हजार र पदक प्राप्त गरेका छन्।
लक्ष्मी पूजा समिति गुठी सूर्यपुराको आयोजनामा भएको प्रतियोगितामा विजयी कुस्तीबाजलाई निवर्तमान सांसद देवकरणप्रसाद कलवारले पुरस्कार प्रदान गरेका थिए। उक्त प्रतियोगितामा २० पहलवानले प्रतिस्पर्धा गरेका गरेका थिए।